• सोमबार, साउन २५ २०८३

प्रहरी गेटमा नागरिक सहायता कक्ष, पिडितको उजुरी प्रहरीले नै लेखिदिने


बुधबार, चैत्र १८ २०७७
2K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालयमा निवेदन/उजुरी दर्ता गराउनको लागि पिडितले अब अन्यत्र भौतारिनु नपर्ने भएको छ । सोको लागि जिल्ला प्रहरी कार्यालय परिसरमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

‘बाहिर निवेदन लेखाउँदा अधिकाशंले चर्को शुल्क तिर्नुपरेको गुनासो हामी सामु आयो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले भने, ‘त्यसपछि हामीले निवेदन र उजुरीहरुको फर्मेट नै तयार गरी यो सेवा सुरु गरेका हौं ।’

रीतपूर्वक आउनु पर्ने जाहेरी दरखास्त बाहेकका अन्य निवेदन एवं उजुरीका फर्मेटहरु निशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । त्यसका लागि छुट्टाछुट्टै फर्म बनाइएको छ ।

‘ठाडो निवेदनहरु जस्तै घरेलु हिंसा, सामान हराएको, चोरी भएको, मानिस हराएको लगायतका सबै फर्मेटहरु बनाइएको छ,’ उनले भने, ‘उजुरीकर्ता आफूले पनि उक्त फर्म भर्न सक्नुहुन्छ । यही लेखपढ गर्न नसक्नेहरु आउनु भयो भने डेक्समा खटिनुभएका हाम्रा प्रहरी साथीहरुले उहाँहरुले भने बमोजिम फर्म भरिदिनुहुनेछ ।’

जिल्लामा केही कानून व्यवसायी तथा लेखापढी व्यवसायीहरुले साधारण निवेदन लेख्न समेत धेरै शुल्क लिने गरेको गुनासो आएपछि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले दाबी गरेको छ । ठाडो उजुरी लेखिदिदा समेत १ हजार देखि ५ हजारसम्म शुल्क तिर्नुपरेको सर्वसाधरणको गुनासो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार