
गोरखा । आत्मनिर्भर बनाउन गोरखा नगरपालिकाले महिलालाई ड्राइभिङ तालिम दिने भएको छ । चालु आर्थिक बर्ष २०७७/७८ को उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत नगरपालिकाले २० जना महिलालाई ड्राइभिङ तालिम दिन लागेको हो । तालिमको सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् ।

उपप्रमुख विनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले संविधान र कानुनले महिलाका लागि अधिकार मात्रै दिएर नपुग्ने बताए । ‘संविधानले महिलालाई पुरुष सरह अधिकार त दियो तर खै अवसर ?’ प्रतिपश्न गर्दै उनले भने ‘उनिहरुको सिप र दक्षता अनुसार हरेक ठाउँमा अवसर पनि दिनुपर्छ भन्ने मान्यता हामी राख्छौ ।’

महिलालाई आवस्यकता अनुसार सिप सिकाएर आत्मनिर्भर बनाउने बाटोमा नगरपालिका अघि बढेको समेत उनको भनाई छ । राष्ट्रपति महिला भएर देश हाँकेको उदाहरण दिदै मेयर पन्तले अब गोरखामा सवारी साधन पनि महिलाले हाक्नुपर्ने बताए ।

‘महिलाले देश हाक्न सक्ने तर गोरखामा गाडी हाक्न किन नसक्ने’ उनले थपे ‘सिप सिकेर आत्मनिर्भर बन्न गोरखामा गाडी हाक्ने हुनुस, के सहयोग चाहिन्छ हामी सहजीकरण गर्छौ ।’
सिकेको सिपलाई उपयोग गरेर आर्थिक रुपमा सवल र सक्षम बन्नुपर्नेमा समेत पन्तले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख श्रेष्ठले महिलाहरु आफ्नै कारण पछाडी परेको बताइन् । अधिकारको पछि दौडदा अवसरबाट बञ्चित बन्ने वातावरण सृजना भएको बताउदै उनले महिलालाई सक्षम बनाउदै अघि बढाउन गोरखा नगरपालिकाले बिभिन्न सिपमुलक तालिम ल्याएको समेत जानकारी दिइन ।
‘हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भनेर हामीले बिभिन्न सिपमुलक तालिमहरु दिइरहेका छौ’ श्रेष्ठले भनिन ‘सिप सिक्ने तर सदुपयोग नगर्ने प्रचलनका कारण महिलाहरु पछाडी परेका हुन ।’
महिलालाई आवस्यकता, दक्षता, चाहाना र समयअनुकुलका सिप सिकाउने र महिला उद्यमीका रुपमा विकास गराउन नगरपालिकाले बिभिन्न योजना अघि बढाएको समेत उनले बताइन ।


एक महिने ड्राइभिङ तालिममा नगरक्षेत्रका बिभिन्न वडाबाट गरी २० जना महिलाहरुको सहभागिता रहने सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले जानकारी दिए । अघिल्लो बर्षसमेत नगरपालिकाले १० जना महिलालाई सो तालिम दिएको जनाएको छ ।
तालिमको सहजीकरण भने धारापानीमा रहेको गुरुङ मोटर ड्राइभिङले गर्ने बताइएको छ । कार्यक्रममा ड्राइभिङ सेन्टरका सञ्चालक उमेश गुरुङ लगायतले बोलेका थिए ।

