• बुधबार, साउन १३ २०८३

दुई चरणमा गरी गोरखामा झण्डै २० हजारले लगाए कोरोना बिरुद्धको खोप


सोमबार, चैत्र १६ २०७७
530
Shares

गोरखा । कोरोना संक्रमणको जोखिम फेरी बढ्न सक्ने विज्ञहरुले बताएका छन् । छिमेकी मुलुक भारतमा यसको संक्रमण तिब्र रुपले बढेसँगै अहिले नेपालमा पनि सर्तकता अपनाइएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि सचेतनामुलक कार्यक्रमसँगै खोप अभियान पनि सुरु भइसकेको छ । यद्यपी पर्याप्त खोप आपुर्ती नभएका कारण अहिले अभियान रोकिएको छ ।

जिल्लामा हालसम्म २ चरणको खोप अभियान सम्पन्न भएका छन् । जसअनुसार अहिलेसम्म कुल १९ हजार ८ सय २८ जनाले कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ‘पहिलो चरण र दोश्रो चरणको अहिलेसम्मका दुबै अभियानहरु उत्साहजनक रुपमा सम्पन्न भएका छन्,’ स्वास्थ्य कार्यालयका खोप कोल्डचेन अधिकृत ऋषिराम खत्रीले भने,‘हामीले लक्ष्य अनुसार नै पनि राम्रो उपलब्धी हासिल गर्न सफल भएका छौं ।’

दोश्रो चरणमा १५ हजार ९ सयद८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १५ हजार ८०७ जनाले खोप लगाएका छन् । पहिलो चरणको पहिलो अभियानमा भने कुल ४ हजार २१ जनाले मात्र खोप लगाएको खत्रीले बताए ।

‘दोश्रो चरणको पहिलो अभियानमा जम्मा १२ हजार डोज मात्र खोप प्राप्त भयो । हामीसँग एक हजार १० डोज स्टक थियो,’ उनले भने, ‘यो अभियान १३ हजार १० डोजको प्लान गरेयौं तर माथिबाट लक्ष्य गरेको भन्दा ६५ वर्ष माथिका बृद्ध बा—आमा धेरै हुनुहुँदो रहेछ त्यसैले पर्याप्त रहेन ।’ दोश्रो चरणको दोश्रो अभियान चलाइराख्दा ३ हजार खोप प्राप्त भएको उनले बताए ।

जसअनुसार दोश्रो चरणमा कुल १५ हजार ८०७ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अहिले स्वास्थ्य कार्यालयमा २०, भीमसेन थापा गाउँपालिकामा ५० र चुमनुब्री गाउँपालिकामा ८० गरी जिल्लामा कुल २१ भाइल २०० डोज खोप मौज्जाद रहेको खत्रीले बताएका छन् ।

‘अब हामी दोश्रो चरणको दोश्रो अभियान र पहिलो चरणमा लगाएकाहरुलाई दोश्रो मात्रा दिने तयारीमा छौं,’ उनले भने, ‘मन्त्रालय र बिभागमा छलफल भइरहेको छ । माथिबाट खोप र आवश्यक निर्देशन आउने बित्तिकै हामी फेरी अभियान चलाउन तयार छौं ।’

आवश्यक निर्देशन नआएकाले पहिलो र दोश्रो चरणमा छुटेकाहरुलाई समेत खोप लगाउन समस्या भएको उनले बताए । अहिले नेपालमा पर्याप्त खोप नरहेकाले दोश्रो चरणको दोश्रो खोप अभियान सञ्चालन हुनेमा भने अन्यौलता रहेको स्रोतले बताएको छ ।

दोश्रो चरणको पहिलो अभियानमा ५५ वर्ष माथिका जेष्ठ नागरिक, सार्वजानिक यातायातका सवारी चालक तथा सहचालक, शिक्षक लगायतलाई खोप लगाउने भनिएको थियो । तर खोप अपुग भएपछि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई मात्र लगाइएको हो । पहिलो चरणमा भने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वसेविका, शव व्यवस्थापनमा खटिने सेना प्रहरी, एम्बुलेन्स चालक, कर्मचारी, जनप्रतिनिधि, संचारकर्मी एवं पत्रकारहरु लगायतलाई खोप लगाइएको थियो ।

नेपालमा पनि कोरोनाको संक्रमण फैलन सक्ने आकंलन गर्दै आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजानिक सूचना जारी गर्दै स्वास्थ्य र सावधानीका सबै उपाया अबलम्बन गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । अटेर गर्नेलाई कानून अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार