गोरखा । उत्तरी गोरखाको छेकम्पारका स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको ध्यानाकर्षण गराएका छन् । सदियौं देखि शान्ति क्षेत्रको रुपमा परिचित उक्त क्षेत्रमा हुन सक्ने हिंसाका घटना रोक्न माग गर्दै उनीहरुले ज्ञापनपत्र समेत बुझाएका छन् ।

‘उत्तरी गोरखाको सिमा नाकामा सिमा सुरक्षा बल राख्ने सरकारको निर्णयले हामी खुसी छौं,’ चुम श्याग्या संरक्षण समितिका संरक्षक निमा लामाले भने, ‘शान्ति क्षेत्र भएकाले त्यसको सुरक्षा गर्नु राज्यकै दायित्व हो । तर उहाँहरुले पनि स्थानीय नियम मानेर त्यहाँ आफ्नो काम गर्नु पर्छ भन्ने हाम्रो भनाई छ ।’
सो क्षेत्र अहिंशा क्षेत्र भएकाले डियुटिका लागि खटिने शसस्त्र प्रहरीलाई पनि माछामासु नखान स्थानीयले आग्रह गरेका छन् । सरकारले केही दिन अघि छेकम्पार र सामागाउँमा शसस्त्र प्रहरीको सिमा सुरक्षा बल बिओपी राख्ने निर्णय गरेको थियो । अहिले स्थायी भवन नबनिसकेकाले वडा कार्यालयको समन्वयमा घर भाडामा लिएर बिओपी राख्ने तयारी गरिएको छ ।



छेकम्पारमा बिओपी स्थापना भएपछि कुनै पनि जीव जनावर काटमार गर्न नपाइने, शिकार खेल्न नपाइने, मह काढ्न नपाइने, डँडेलो लगाउन नपाइने, मासु खाने प्रयोजनले कुनै पनि पशुपंक्षीलाई चुम उपत्यका प्रवेश गराउन नपाइने र पशुवद्य पूर्ण रुपमा निषेध गर्नुपर्ने उनीहरुले स्थानीयको माग छ ।
ज्ञापनपत्र बुझिसकेपछि प्रजिअ पौडेलले स्थानीयको भावना अनुसार नै गरिने आश्वासन दिएका छन् । ‘नेपालको कानून बिपरित मैले लिखित प्रतिवद्धता त गर्न मिलेन,’ उनले भने, ‘त्यहाँको स्थानीय संस्कृती पनि कानून हो । सोही अनुसार हामी, खटिने साथीहरुलाई आग्रह गर्छौ । तपाइँहरुको संस्कार र संस्कृति विपरितका काम हुने छैनन् ।’
उनले स्थानीय संस्कार र संस्कृतिलाई कानूनी रुपमै लिपिवद्ध गराउन आग्रह गरेका छन् । अहिले तीन तहको सरकार रहेकाले स्थानीय र प्रदेश सरकारले समेत उक्त कानून निर्माण गर्न सक्ने उनको सुझाव छ ।


चुम उपत्यका बिक्रम संवत १९७७ देखि स्याग्या (अहिंसा) क्षेत्र घोषणा भएको क्षेत्र हो । त्यस यता हत्या हिंसाका कुनै पनि घटना नभएको स्थानीयको दाबी छ । अहिंसा क्षेत्र भएकै कारण मनास्लु क्षेत्रमा बन्यजन्तुको संरक्षण पनि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । ‘सो क्षेत्र घुम्न जाने जो सुकैले पनि आफ्नै आखाँले बन्यजन्तुहरु हेर्न पाउनुहुन्छ,’ उनले भने, ‘यो अहिसां क्षेत्रकै देन हो ।’
सो क्षेत्रको कला संस्कृतिको जर्गेना गरी आवश्यक प्रचारपसार गर्नु सके पर्यटकको घुँइचो लाग्ने विज्ञहरु बताउँछन् । अहिसां क्षेत्र भएकाले बौद्ध धर्मावलम्बीहरुको लागि आकर्षक गन्तव्य बन्ने देखिन्छ । उक्त समितिले केही दिन अघि गृहमन्त्री रामबहादुर थापालाई पनि ज्ञापनपत्र बुझाएको थियो ।
