
गोरखा । जिल्लामा विगत तीन बर्ष देखि छाना छाउने तह सम्म रोकिरहेका घरमा छाना छाइएको छ । अतिविपन्न भूकम्प प्रभावित घर धनीका विगत लामो समय देखि छाना छाउन बाँकी रहेका घरहरु पहिचान गरि छाना छाइएको हो ।


आर्थिक अभावका कारण तेश्रो किस्ता समेत प्रयोग भएपछि उनीहरु छाना नछाइ बसेका थिए । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको पहलमा लामो समय देखि रोकिएका अतिविपन्न भुकम्प प्रभावित घरधनीको घरमा स्थानीय डकर्मीलाई तालिम सहित छाना छाउने निर्माण सामग्री प्रदान गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगतका डीएलपी आयु गोरखासंगको समन्वयमा लामो समय देखि छाना तहमा रोकिएका र आर्थिक अवस्था कमजोर भएका घरमा निर्माण सामग्री सहित स्थानीय सिकर्मी/ डकर्मीलाई तालिम मार्फत छाना छाउने काम अगाडी बढाइएको परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले जानकारी दिए ।

परियोजनाले ४० घरमा छाना छाइने लक्ष्य लिएको उनले बताए । हाल सम्म ९ वटा घरमा आर्थिक अवस्था कमजोर भएका भूकम्प प्रभावित घरधनीका घरमा छाना छाइ सकिएको खतिवडाले बताए ।
हाल सम्म गोरखा नगरपालिकामा ६ र सिरानचोक गाँउपालिकामा ३ वटा अतिविपन्न परिवारका छाना नछाइएका घरमा परियोजनाको सहजिकरणमा छाना छाइएको छ । लामो समय देखि अलपत्र घर निर्माण गरिदिएपछि भूकम्प पिडित पनि खुसी भएका छन् ।