• बुधबार, असोज १४ २०८३

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण, छोरीले दिइन् आमालाई आफ्नो कलेजो


बिहिबार, चैत्र १२ २०७७
735
Shares

चितवन । चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जनाएको छ ।

कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो ।

कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, ड.विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा.सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

चिकित्सकका अनुसार लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन ।

बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सक बताए ।

करिब १ वर्ष अघिदेखि काठमाडौंमा कलेजोसम्बन्धी नियमित जाँच गर्दै आएकी धनकुमारी लामाको ‘क्रोनिक लिभर डिजिज्’को कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो ।

हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ ।

शल्यक्रियामा आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय चितवनले उपलब्ध गराएको थियो ।

विगत केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति, कलेजो रोगको उपचार तथा प्रत्यारोपण सम्वन्धी विषेशज्ञहरुको व्यवस्थापन गरेको थियो ।

प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सकहरु छन् ।

चितवन मेडिकल कलेजमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराउने धनकुमारी लामा नेपालमा नै कलेजो प्रत्यारोपण गराउने आठौं बिरामी हुन ।

यसअघि, त्रिवि शिक्षण अस्पतालमा पाँचजना र मानव अंग प्रत्यारोपण केन्मा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार