• बुधबार, साउन १३ २०८३

गोरखामा क्षयरोगका कारण साउन यता मात्र ८ को मृत्यु


बिहिबार, चैत्र १२ २०७७
635
Shares

गोरखा । जिल्लामा गत साउन यता मात्र ८ जना क्षयरोगीको ज्यान गएको छ । क्षयरोग अर्थात टिबी पहिचान भई उपचार गराइरहेका ८ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख नरजंग ठकूरीले जानकारी दिए ।

यो वर्ष १०७ जना नयाँ क्षयरोगी पहिचान भएका छन्, भने पुरानो करिब २७० जनाले उपचार गराइरहेको उनले बताए । ‘उहाँहरु सबैले नियमित रुपमा औषधी सेवन गरिरहनुभएको छ,’ उनले भने, ‘कतिपय निको समेत भइसक्नु भएको होला । कति निको हुने क्रममा हुनुहुन्छ ।’

क्षयरोगको औषधी जिल्लाका सबै स्वास्थ्य चौकीहरुमा निशुल्क उपलब्ध छ । पहिचान भएको ६ महिनासम्म नियमित रुपमा औषधी सेवन गरेपछि क्षयरोग निको हुने विज्ञहरु बताउँछन् । रोगीको प्रत्यक्ष संसर्गबाट अर्को व्यक्तिमा सजिलै किटाणु सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनीहरुले सुझाव दिएका छन् ।

‘यसबाट बच्ने मुख्य उपाय भनेकै सावधानी हो,’ उनले भने, ‘यदी कसैलाई क्षयरोग भएको छ भने उसको प्रत्यक्ष संसर्गबाट टाढा रहने, रोगी र निरोगी व्यक्ति दुबैले मास्क प्रयोग गर्ने, खोक्दा ह्याछिइउँ गर्दा रुमालले मुख छोप्ने गर्नुपर्छ ।’ तर रोगीलाई हेला र दुव्र्यवहार भने नगर्न उनले सबैलाई आग्रह गरेका छन् ।

निरन्तर खोकी लागेमा, ह्याछिइउँ आइराखेमा, बेलुकापख टाउको दुख्ने ज्वरो आउने भएमा र जिऊ दुखेमा क्षयरोग लागेको हुन सक्ने विज्ञहरु बताउँछन् । यदी त्यस्तो लक्षण देखिएमा नजिकै स्वास्थ्य संस्थामा सम्पर्क राख्न ठकूरीले आग्रह गरेका छन् । शंकास्पद व्यक्तिको खकार परीक्षण गरेपछि मात्र क्षयरोग पुष्टि हुने उनले बताए ।

त्यसैले हचुवाको भरमा भने औषधी नखान उनले सुझाव दिएका छन् । यसैवीच जिल्लामै क्षयरोगीको परीक्षण हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रले जिल्लालाई एक्सपट मेसिन उपलब्ध गराएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उक्त मेसिनले तीन घण्टामै खकार परीक्षणको नतिजा दिन सक्ने बताइएको छ । ‘अब खकार परीक्षणका लागि काठमाण्डौ पठाउनु पर्दैन । परीक्षण गर्ने मेसिन जिल्लामै उपलब्ध भइसकेको छ,’ उनले भने, ‘उक्त मेसिनले औषधी खाएपछि काम गरेनगरेको बारेमा पनि जानकारी दिन्छ ।’

त्यसले रोगको पहिचान गर्न मात्र नभएर उपचारमा पनि मद्दत गर्ने विश्वास लिइएको छ । उक्त मेसिन गत शनिवार जिल्ला भित्रिसकेको छ । तर प्रावधिक नआएकाले जडान कार्य भने हुन बाँकी रहेको उनले बताए ।

विश्व क्षयरोग दिवश जिल्लाभर विभिन्न सचेतना मुलक कार्यक्रम गरी मनाइएको छ । दिवशका अबसरमा जिल्लाका ११ वटै स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले समेत कार्यक्रम गरेका छन् । दिवशकै अवसरमा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुसँग अन्तक्रिर्या समेत गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार