

गोरखा । गोरखामा सद्गुरु गोरक्षनाथ बाबाको मन्दिर निर्माण गरिने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार नजिकै रहेको शिखर डाँडामा गोरक्षनाथ आश्रम राजविद्या शक्ति केन्द्र पीठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम ब्यवस्थापन समितिले जानकारी दिएको छ ।

गोरखनाथ गुठीको नाममा रहेको ५१४ रोपनी क्षेत्रफल जमिनमा मन्दिर सहितका अन्य धार्मिक धरोहरहरु निर्माण गरिने आयोजकले जनाएको छ । आश्रम ब्यवस्थापन समितिका अध्यक्ष होमसिंह बस्न्यातका अनुसार शिखर शैलीमा निर्माण गरिने उक्त मन्दिर मन्दिरको लागत १ करोड ६२ लाख अनुमान गरिएको छ ।
उक्त क्षेत्रलाई धार्मिक पीठको रुपमा बिकास गर्न योगशाला, गौशाला, प्रबचन कक्ष र ध्यान केन्द्रको समेत निर्माण हुने भएको छ । यी सबै संरचना निर्माणका लागि भने करिब ६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ‘हामीले यो पवित्र भूमिलाई साधनाको भूमीको रुपमा बिकास गर्न लागेका हौं,’ अध्यक्ष बस्न्यातले भने, ‘भनिन्छ त आँट म पु¥याउँछु भने झै श्रद्धालु भक्तजन, केन्द्र, प्रदेश र स्थानीय सरकार, विभिन्न सामाजिक संघ संस्था सबैसँग हारगुहार गरी आवश्यक रकम जुटाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’

उक्त मन्दिरको आगामी चैत्र १५ गते फागुपूर्णिमाको अबसरमा शिलन्यास गर्ने कार्यक्रम छ । बिहान १०ः३५ बजे शुभ साइतमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले मन्दिर शिलान्यास गर्ने कार्यक्रम समेत तय भएको उनले बताए । उक्त स्थानमा २०७५ सालमा श्रीमद्भागवत महापुण लगाएर १५ लाख रुपैयाँ संकलन गरिएको थियो । सो रकम पनि मन्दिर निर्माणमा खर्च गर्ने योजना बनाइएको बस्न्यातले बताएका छन् ।
यसैवीच गण्डकी प्रदेश सरकारले वन डिभिजन कार्यालय मार्फत यज्ञशाला निर्माण गर्नका ५ लाख रकम बिनियोजन गरेको थियो । अहिले यज्ञशाला निर्माण गरी नियमित रुपमा हवन तथा मन्त्रपाठ गर्ने गरिएको छ । धार्मिक मान्यता अनुसार गुरु गोरखानाथले उक्त भूमिमा बाल्यकाल बिताएको किमबदन्ती छ । त्यहाँको माटोमा शक्ति रहेको भन्दै उनका अनुयायीहरुले शक्ति पीठ निर्माण गर्न लागेका हुन ।
