
गोरखा । छिमेकी मुलक भारत लगायतका देशहरुमा कोरोनाको संक्रमण बढेको भन्दै नेपालमा पनि सजकता अपनाउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सार्वजानिक सूचना जारी आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको हो । प्रशासकीय अधिकृत दामोदर शर्माद्धारा हस्ताक्षरित सूचनामा नजिकिदै गरेको होली पर्व भिडभाड नगरी घरमै बसेर मनाउन भनिएको छ ।



कोभिड १९ को संक्रमण फेरी फैलने सम्भावनालाई मध्येनजर गर्दै पहिले सञ्चालन भइ आएका क्वारेटिन र आइसोलेशनलाई तयारी अबस्थामा राख्न स्थानीय तहलाई आग्रह गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा दिन स्थानीय स्वास्थ्य सस्था, अस्पताल र स्वास्थ्य कार्यालयलाई समेत निर्देशन दिइएको छ ।

स्वास्थ्य परीक्षण गराई संक्रमणको अबस्था पहिचान गर्न जिल्लाका सबै स्वास्थ्य निकायलाई अनुरोध समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा बसेको सिसिएमसीको बैठकले कोभिड १९ को संक्रमण थप फैलन नदिन विद्युतिय सञ्चार माध्यमबाट चेतनामुलक सन्देश प्रवाह गर्ने निर्णय समेत गरेको छ ।
कोरोनाबाट बच्न मास्क र सेनिटाइजरको प्रयोग गरी सार्वजानिक स्थलहरुमा सामाजिक दुरी कायम गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । यदी उक्त कुराको अटेरी गर्नेलाई संक्रामक ऐन अनुसार आवश्यक कारवाही गर्ने चेतवानी समेत प्रशासनले दिएको छ । जिल्लामा बढि भिडभाड हुने सभा सम्मेलन र कार्यक्रमहरु नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।

‘कोरोनाको संक्रमण बढ्न सक्ने अबस्थालाई मध्येनजर गर्दै जिल्लाभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न नगराउन र सामाजिक÷भौतिक दुरी, मास्क अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गरी कोभिड १९ संक्रमण रोकथाममा सहयोग गरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।’ उक्त सूचनामा भनिएको छ ।
भारतमा संक्रमण बढेसँगै नेपालमा थप सर्तकता अपनाउने निर्णय गरिएको हो । सोही अनुरुप गृह मन्त्रालयले सबै जिल्ला प्रशासनमा परिपत्र गरी आवश्यक कडाई गर्न निर्देशन दिएको छ । प्रशासन आग्रह गरेपनि पालना हुनेमा भने धेरैको आशंका छ ।

