काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।

मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न भनेको छ। यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोरानाको संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो।
भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न मन्त्रालयले निर्देशन दिएको छ।


‘भीडभाड नगर्नूरनगराउनू, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउनू र नलाउनेलाई कारबाही गर्नु भनिएको छ’, प्रवक्ता बुढाले भने, ‘सीमानाबाट भित्रिनेको अनिवार्य तथ्यांक राख्न, स्वास्थ्य जाँच गराउने, शंकास्पद देखिए क्वारेन्टिनमा राख्ने, जिल्लाका क्वारेन्टिन तथा आइसोलेसन सेन्टर पुनः एक्टिभ बनाउन र सचेतनाका कार्यक्रम गर्न भनेका छौं।’
नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर थपिएको छ। केही दिनदेखि एक सयभन्दा कम दैनिक संक्रमण पुष्टि भएकोमा सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो।