• सोमबार, साउन २५ २०८३

जिल्ला प्रशासन कार्यालयभित्रै बिचौलियाको बिगबिगी, पक्राउ परे विष्णु पन्त


मंगलबार, चैत्र १० २०७७
735
Shares

गोरखा । सरकारी कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शहिद लखन गाउँपालिका ७ बुंकोटका विष्णु पन्त (क्षेत्री) लाई प्रहरीले आइतबार दिउँसो जिल्ला प्रशासन परिसरबाट नियन्त्रणमा लिएको हो ।

‘जिल्ला प्रशासनबाट हुने एउटा काम छिटो गराइदिन्छु भनेर उहाँले सेवाग्राहीसँग पैसा लिनु भएको भन्ने सूचना पायौं,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी शेखर खनालले भने, ‘अनि त्यहाँ रहेको हाम्रो टोलीले सोधपुछ गर्दा शंकास्पद लाग्यो । त्यसपछि उहाँलाई जिल्ला प्रशासन परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छौं ।’

यस अघि सार्वजानिक मुद्धामा धरौटी राखेका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पाउनु पर्ने रकम छिटो फिर्ता गराइदिन्छु भन्दै पन्तले सेवाग्राहीबाट चेक मार्फत पैसा लिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।

३६ वर्षीय पन्तले सेवाग्राहीलाई प्रभावमा पारी गैरकानूनी हिसाबले बिचौलियाको काम गर्ने गरेको प्रहरीको आरोप छ । उनलाई शान्ति बिरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी खनालले बताए ।

जिल्लाका विभिन्न सरकारी कार्यालयमा बिचौलिया र दलाल प्रवृती देखिएको भन्दै त्यसलाई निरुत्साहित पारिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दाबी गरेका छन् ।

‘यो त एउटा कास्टिङ मात्र हो,’ उनले भने,‘यदी कसैले सरकारी कार्यालयको सेवा प्रभावित बनाउन खोज्छ । सेवाग्राहीलाई ठग्छ भने हामी कुनैपनि हालतमा त्यसलाई छोड्दैनौं ।’ सोही अनुरुप सेवाग्राहीको बढि भिडभाड हुने कार्यालयहरु जिल्ला प्रशासन, मालपोत, नापी, अदालत लगायतमा सादा र बर्दीमा समेत प्रहरी खटाइएको उनले बताए ।

शंकास्पद व्यक्ति भेटिएमा तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्ने अधिकार प्रहरीलाई दिइएको छ । यदी त्यहाँ गैरकानूनी काम भएको भेटिएमा पक्राउ गरी कानून अनुसार कडा कारवाही गर्ने प्रजिअ पौडेलको भनाई छ ।

सरकारी कार्यालयमा राजस्व बापत तिर्नु पर्ने रकम रसिद लिएर मात्र दिन र, अन्यथा कोही कसैलाई यसै रकम नदिन प्रहरी प्रशासनले सेवाग्राही सबैलाई अनुरोध गरेको छ । यदी कसैले काम छिटो गरिदिन्छु भनि पैसा लिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

सेवाग्राहीको बढि चाप हुने कार्यालयको आसपास गैरकानूनी रुपमा हुने ठगी धन्दा हुने गरेको छ । प्रक्रिया नबुझेका सोझा साझा सर्वसाधरणहरुलाई सिकाई दिने बाहनामा बिचौलियाहरुले मोटो रकम लिने गरेको गुनासो छ । काम छिटो हुन आशकामा धेरै सर्वसाधारणहरुले पैसा दिने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार