काठमाडौं । लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार–लेखक महासंघको प्रथम केन्द्रीय कार्यसमिति गठन भएको छ।
ललितपुरमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ ।
यस्तै, महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भए भने कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक चुनिए ।


महासंघको प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिञ्जाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्णराज सर्वहारी र डा. तारालाल श्रेष्ठ छन् ।
महासंघको केन्द्रीय तदर्थ समितिले ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ राष्ट्रिय भेला आयोजना गरेको थियो ।
महासंघका नवनिर्वाचित अध्यक्ष राजन मुकारुङले नेपालका आदिवासी जनजातिहरुको आन्दोलनलाई राज्यसत्ताको मनोविज्ञानबाट भ्रष्टीकरण गरिएको र यसमा आदिवासी जनजातिभित्रै पनि भ्रष्टीकरण हावी भएकाले यी दुवै प्रवृत्तिहरुका विरुद्ध एकसाथ लड्नुपर्ने बताए।
भोजपुरका मुकारुङ मदन पुरस्कार २०६९ का विजेतासमेत हुन् । भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ । जसमा आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरू समेटिएका छन् ।