नेपाल सरकारले आउँदो वर्षात्को सम्भावित विपद् न्यूनीकरणको पूर्वाभ्यास प्रि–मनसुनमै सुरु गरेको छ । गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त पहलमा सम्भावित विपद् न्यूनीकरणको पूर्वाभ्यास सुरु गरिएको हो ।
प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्रि–मनसुन सुरु भएलगत्तै विज्ञ तथा उच्च अधिकारीसहितको टोलीले देश दौडाहा गरेर सम्भावित विपद् र त्यसका विरुद्ध गर्नुपर्ने कामको विवरण सङ्कलन गरिरहेको बताए ।


उनले विगतमा पूर्वतयारी नहुँदा विपद्को जोखिम बढ्नुका साथै बढी जनधनको क्षति भएकाले यसपटक प्रि–मनसुनमै सम्भावित जोखिमको आकलन र त्यसविरुद्धको रणनीति निर्माणका लागि जुटेको जानकारी दिए ।
गत वर्ष पहिरो गएको क्षेत्र यस पटकको वर्षामा पनि उच्च जोखिम रहन्छ । जहाँ गत वर्ष तटबन्ध फुटेको तराईका भूभाग टाल्न नसके थप जोखिम बढ्ने खतरा देखिएको छ । फुटेका ड्याम फेरि बाँध्ने प्रक्रिया अघि बढाउनुपर्नेछ ।
प्राधिकरणका उपसचिव वेदनिधि खनालले गत वर्षको विपद्मा परेकालाई घर बनाउने अभियानका लागि लाभग्राही पहिचानको कामसँगै जोखिम क्षेत्रको अवस्था बुझ्ने काम पनि सँगै भइरहेको जानकारी दिए । प्राधिकरणले घर बनाउनका लागि झण्डै एक अर्ब २० करोड रुपियाँ सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा दिन सकेको छैन ।
उनले भने ‘ढिला भइसक्यो । अहिले बजेट उपलब्ध हुन सके वितरण गर्न प्राधिकरणलाई थप एक महिना समय लाग्न सक्छ ।’ विपद्मा तत्काल उपयोग गर्नका लागि विश्व बैङ्कले दुई महिना अगाडि २५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराएको थियो ।