• शनिबार, साउन ९ २०८३

सुत्केरीलाई वडा कार्यालयबाट ‘कुखुराको भाले’ कोसेली


आइतबार, चैत्र ८ २०७७
1.1K
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ४ ले सुत्केरी महिलालाई कुखुराको भाले कोसेली दिएको छ । वडामा रहेको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलालाई वडा कार्यालयले कुखुराको भाले कोसेली पठाएको हो ।

आइतबार एक कार्यक्रमका बिच गत साउनयता वडाभित्र सुत्केरी भएका १३ जना महिलालाई एक एक वटा कुखुराको भाले वितरण गरेको हो ।

वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपमेयर विना कुमारी श्रेष्ठले १३ महिलालाई भाले वितरण गरेकी हुन । चालु आर्थिक बर्ष २०७७/७८ मा वडाक्षेत्रका २५ जनालाई सो कार्यक्रमबाट भाले दिने लक्ष्य रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।

‘हाम्रो फिनाम स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य परिक्षण गराउने गर्भवती र बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलालाई हामी कुखुराको भाले कोसेली दिन्छौ’ अधिकारीले सिभिलखबरलाई भने ।

गर्भवतीले नियमित रुपमा स्वास्थ्य परिक्षण गराई सुरक्षित सुत्केरी गराउने वातावरण सृजना गर्न वडाले यो बर्षदेखि कुखुराको भाले कोसेली कार्यक्रम सुरुवात गरेको बताइएको छ । केहि बर्षअघिदेखि नै गोरखा नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई पोसिलो झोला कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तर त्यसमा कुखुराको भाले नभएको र सुत्केरी महिलालाई लोकल कुखुराको मासु अत्यावस्यक हुने भएकाले यो कार्यक्रम सुरुवात गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । ‘वडा कार्यालय सबैको अभिभावक हो, हामीले आफ्नो दायित्व निर्वाह गरेका हौं’ उनले भने ‘सुत्केरी भएका बेला पौष्टिक तत्व खानुपर्छ भन्ने सन्देश दिनपनि यो कार्यक्रम महत्वपूर्ण बन्छ ।’

हाल २५ जनालाई भाले वितरण गर्ने लक्ष्य रहेपनि १३ जना मात्रै सुत्केरी भएको र अन्य बाँकी रहेको साथै उनिहरु स्वास्थ्य चौकीको नियमित सम्पर्कमा रहेकाले आगामी दिनमा सो कार्यक्रमबाट बाँकी १२ जना समेत लाभान्वित हुने वडासचिव नारायणबाबु भट्टले सिभिलखबरलाई बताए । तर अन्यत्र चेकजाँच गराउने साथै घरमै सुत्केरी हुने महिला भने यो कार्यक्रममा समावेश नहुने भट्टको भनाई छ ।

त्यस्तै वडा कार्यालयको आयोजनामा भएको सिलाई कटाई तालिमको समेत आइतबार नै समापन गरिएको छ । १७ जना महिला सो तालिममा सहभागी भएका थिए । साथै वडामा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयम सेविकालाई झोला र छातासंगै नगरपालिकाबाट प्राप्त पोषाक भत्ता समेत वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर श्रेष्ठले नगरक्षेत्रका महिलालाई आत्मनिर्भर बनाई स्वरोजजगारको वातावरण सृजना गर्ने अभियानमा नगरपालिका रहेको बताएकी छिन् ।

‘हामी महिलालाई मुख्य प्राथमिकतामा राखेर काम गरिहेका छौ, महिलालाई आत्मनिर्भर बनाउनेदेखि उद्यमी बनाउनेसम्मको योजना हामीले अघि सारेका छौ’ उपमेयर श्रेष्ठले भनिन ‘सिप सिकेर त्यसको कार्यान्वयन गर्ने महिलाको ब्यवसायमा पनि हामी सपोर्ट गर्छौ ।’

कार्यक्रममा वडासदस्य जमिल मियाँ, भगवती खड्का, सिलाई कटाई तालिमकी प्रशिक्षक सानुमाया बाँनियाँ, सहभागी सिता आले लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार