नियमविपरीत यात्रु बोकेर गइरहेको मालबाहक ट्रक मनाङको नासों गाउँपालिका–३ खोत्रोमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । दुइजना गम्भीर घाइते भएका छन् ।

लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध.१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले सिमेन्ट बोकेर मनाङको सदरमुकाम चामे जाँदै गरेको ट्रक अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर मर्स्याङ्दी नदीमा खसेको बताए ।

तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो । मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।


मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । यसैगरी गएराती नासों गाउँपालिका -१ तालका तीन वर्षीय थियोन गुरुङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ र सोही वडाका अन्दाजी ६ वर्षका निहल गुरुङ छन् । दुवैजना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लमजुङ जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।