• आइतबार, साउन २४ २०८३

अपाङ्गता भएकी युवतीलाई घरमै नागरिकता


आइतबार, चैत्र ८ २०७७
855
Shares

गोरखा । गोरखा नगरपालिका ४ फिनामकी एक युवतीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले नेतृत्वमा गएको जिल्ला प्रशासनको टोलीले पूर्ण रुपमा अपाङ्गगता भएकी हरिमायाँ थापालाई नागरिता प्रदान गरेको हो । ‘उहाँ पूर्ण खालको अपाङ्गता हुनुहुँदो रहेछ ।

नागरिकता नभएका कारण उहाँले अपाङ्गता भएको बापत पाउनु पर्नेे सामाजिक सुरक्षा भक्ता पनि नपाउनु भएको रहेछ,’ प्रजिअ पौडेलले भने, ‘वडाध्यक्ष ज्युले आएर मलाई भन्नु भयो । अनि शनिवार बिदाको दिन हाम्रो टोलीले उहाँकै घरमा पुगेर नागरिकता दिएको हो ।’

शुक्रबार नै सनाखतको कागजपत्र टुंग्याएर शनिवार नागरिकता दिइएको उनले बताए । शारिरिक रुपमा उनको अबस्था निकै नाजुक छ । ‘उहाँ बोल्न,हिड्न, सुन्न समेत राम्रोसँग सक्नु हुँदो रहेनछ,’ उनले भने, ‘यस्ता गम्भीर समस्या भएका अन्यलाई पनि हामी घरमा पुगेर नागरिकता दिन्छौं । जसले गर्दा उहाँहरुलाई जिल्ला प्रशासन धाउन नपरोस् ।’

नागरिकता पाएपछि थापाको परिवार पनि निकै खुसी भएको छ । पूर्ण रुपमा अपाङ्गता भएकी छोरीलाई घरमै नागरिकता दिएकोमा उनकी आमा जुना थापाले सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

उक्त अवसरमा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, वडा अध्यक्ष खोपबहादुर अधिकारी, वडा सदस्यहरु, जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

‘हाम्रो आग्रहलाई स्वीकार गरी सिडिओ सापले घरमै आएर नागरिकता दिनुभयो हामी निकै खुसी भएका छौं,’ वडा अध्यक्ष अधिकारीले भने, ‘उहाँहरुले यस्ता नागरिकलाई घरमै पुगेर सेवा दिन सक्नु भयो भने उनीहरुलाई राज्यले दिएको सेवा लिन सहज हुने थियो ।’

नागरिकता दिनका लागि जिल्ला प्रशासनको ढड्डा र अन्य कागजात समेत लिएर जानु पर्ने भएकाले साँझ बिहान र बिदाको दिन मात्र बाहिर जान मिल्ने प्रजिअ पौडेलले स्पष्ट पारेका छन् ।

सोही अनुरुप गम्भीर समस्या भएका त्यस्ता नागरिकहरुको बारेमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइदिन उनले आग्रह समेत गरेका छन् । समय र बिदाको दिन मिल्दा जिल्लाको कुनाकाप्चा जहाँ पुगेर पनि नागरिकता दिन तयार रहेको प्रजिय पौडेलको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार