• आइतबार, साउन २४ २०८३

अन्नपूर्ण पोस्टका पत्रकारले दिए सामुहिक राजीनामा


बिहिबार, चैत्र ५ २०७७
715
Shares


काठमाडौं । नेपाल न्युज इन्टरनेशनल प्रा.लि.बाट प्रकाशन हुँदै आएको अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्।

२०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्।

सामुहिक राजीनामाबाहेक थप १२ जना पत्रकारले व्यक्तिगत रूपमा राजीनामा दिइसकेका छन् ।

राजीनामा दिने मध्ये एक पत्रकारका अनुसार गत वर्षको चैतदेखि आधा मात्रै तलव दिएकाले केही दिनदेखि राजीनामा मागेको माग्यै गरेपछि बाध्य भएर राजीनामा दिएको बताए ।

सामुहिक राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ। ‘पत्रिका चलाउन सकिएन घाटा लाग्यो भन्ने गरेका छन्। तर के कारणले पत्रिका बन्द गर्न लागेको हो भन्ने जानकारी अध्यक्ष रामेश्वर थापाले दिनुभएको छैन,’ ती पत्रकार भन्छन्।

अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन्। पत्रिकाका विभिन्न विभागका विभागीय प्रमुखहरूले राजीनामा दिन दवाव दिएपछि राजीनामा दिइएको उनीहरूले बुझाएको राजीनामा पत्रमै उल्लेख छ।

सम्पादक भण्डारीले फागुन २० गते बेलुका ६ बजे बैठक राखेर र फागुन २५ गते अपरान्ह साढे ४ बजे अर्को बैठक राखेर राजीनामा दिन दवाव दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ।

पत्रिका बन्द गरी अनलाइनमा जाने निर्णय भएकोले सबै जनाले राजीनामा दिनुपर्ने माथिको आदेश आएको सम्पादक भण्डारीले बताउने गरेको दाबी सामुहिक राजीनामा दिएका पत्रकारहरूको छ।

पत्रकारहरूले कोरोनाकालदेखि काटिएको तलवको भुक्तानी पाउनुपर्ने माग राखेका छन्। दसैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको तलव तथा उपदान, सञ्चयकोष, उपचार खर्च, अन्य बिदाका रकम भुक्तानीको व्यवस्था गर्न उनीहरूको माग छ।

राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् ।

यस्तै जिल्लास्थित संवाददाताहरूले पनि आफूहरूलाई स्ट्रिङ्जरको रूपमा जबरजस्ती झारिएको बताएका छन्।

प्रमुख कार्यकारी अधिकृत (सिईओ) मानस घिमिरेले वैशाखदेखि पत्रिका बन्द गर्न लागिएको बताए।

‘मिटिङमा व्यवस्थापनका तर्फबाट मैले कुराहरू राखेको थिएँ। संस्थाको अवस्थाबारे जानकारी दिइयो। यो दिन्छौं त्यो दिन्नौं केही भनेको छैनौं। अध्यक्षसँग सल्लाह गरेपछि थप जानकारी दिन्छौं,’ उनले भने।

वैशाख दोस्रो वा तेस्रो सातादेखि केही समयका लागि पत्रिका बन्द गर्ने तयारी रहेको उनले बताए।

‘वैशाख दोस्रो वा तेस्रो सातादेखि केही समयका लागि पत्रिका बन्द गर्ने भन्ने नै छ। पत्रिका बन्द गर्ने भनेर मिडिया हाउस नै बन्द गर्ने होइनौं, अनलाइनलाई अझै परिस्कृत बनाएर अगाडि बढ्नेछौं।’

अनलाइनका लागि जनशक्ति थप गर्ने पनि उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार