• आइतबार, साउन २४ २०८३

समुदायको उत्थानका लागि सबैले राजनीतिक स्वार्थ त्याग्न जरुरी : अन्सारी


बुधबार, चैत्र ४ २०७७
860
Shares

गोरखा । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समुदायको हितका लागि सबैले आ–आफ्ना स्वार्थ त्याग्नुपर्नेमा बताएका छन् ।

बुधबार गोरखा सदरमुकाममा आयोगले आयोजना गरेको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले हरेक जातजातीले आफ्नो समुदायको उत्थान र विकासका लागि ब्यक्तिगत र राजनीतिक स्वार्थ त्याग्नुपर्ने बताएका हुन ।

‘समाज र समुदायको हितलाई अघि बढाउन हामी सबै किसिमका स्वार्थबाट माथी उठ्न जरुरी छ’ उनले भने ।

नयाँ संविधानले मुस्लिम समुदायका अधिकांश अधिकार स्थापित गराएको दावी गर्दै अन्सारीले त्यसको रक्षा र कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यका हरेक निकायमा पहुँच नपुग्नु मुस्लिम समुदाय पछाडी पर्नुको मुख्य कारण रहेको समेत उनले बताए ।

‘हामीले अब राज्यसंग अधिकार मात्रै माग्ने होइन, हरेक निकायको निर्णायक तप्कामा हाम्रो उपस्थिती पनि देखाउन जरुरी छ’ अन्सारीले भने ‘शैक्षिक रुपमा अब हामीले हाम्रो समाजलाई बलियो बनाएर अघि बढाउन सके भोलीका पिडीले अवस्यपनि त्यो अवसर पाउनेछन् ।’

नेपालमा मुस्लिम समुदाय आफैमा पिछडिएको मात्रै नभई पछाडी समेत पारिएको उनको दावी थियो । राज्यसंग अहिलेसम्म पनि नेपाली मुस्लिम समुदायको बस्तुस्थितीका बारे कुनै आधिकारिक ‘डकुमेण्ट’ नहुनु दुखद रहेको भन्दै अध्यक्ष अन्सारीले केहि समयभित्रै मुस्लिम पहिचान सहितको प्रोफाइल निर्माण गरी सार्वजानिक गर्ने योजनामा आयोग रहेको जानकारी दिएका छन् ।

कबरस्थान, मस्जिद, मदरसा, इदगाह लगायतको जग्गा समस्या समाधानका लागि नीतिगत रुपमै अघि बढ्न जरुरी रहेको समेत उनले बताए ।

आयोगका अध्यक्ष अन्सारीकै अध्यक्षतामा भएको मुस्लिम समुदायको हकहितको संरक्षण, संबद्र्धन तथा सशक्तिकरण बिषय जनचेतनामुलक कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय महासचिव रहमतुल्लाह मियाँ, गोरखा नगरपालिका २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, नेपाल इत्तेहाद संगठनका जिल्ला अध्यक्ष मुमदिन मियाँ, गोरखा जामे मस्जिदका अध्यक्ष बाबुदिन मियाँ, गोरखा एकता समाजका अध्यक्ष जमिल मियाँ लगायतले मुस्लिम समुदायले भोगिरहेका समस्याका बारे आयोगलाई जानकारी गराएका थिए । कार्यक्रममा आयेगका सचिव सुनिता नेपालले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार