काठमाडौं । बल्खुमा रहेको सुकुम्बासी बस्तीमा एक महिलाको हत्या भएको छ।
सोमबार साँझ साढे ७ बजे बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा एक महिलाको शव फेला परेको हो। मृतक अन्दाजी ३२—३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन्।


काठमाडौंकै जोरपाटी माइती भएकी सन्तोषीले सन्तोष सापकोटासँग अन्तरजातिय विवाह गरेकी थिइन्। उनीहरुले बल्खुमा फर्निचर व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्।
पछिल्लो समय सम्बन्ध बिग्रिएपछि सन्तोषीले पतिसँग सम्बन्ध विच्छेदको माग गर्दै आएको आफन्तहरुले बताएका छन्।

त्यही भएर श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने प्रहरीको आशंका छ। टाउकोमा हथौडाले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्यापछि सन्तोष फरार छन्।
घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।