काठमाडौं । नारायणहिटी संग्रहालय (पुरानो राजदरबार) भित्र रहेको सिनेमा हल अब चलाइने भएको छ।
दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको छ। दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्।
तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनुपहिले २०५८ सालसम्म यो सिनेमा हल चालु थियो।
२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि बन्द रहेको यो सिनेमा हल सञ्चालन गर्न थालिएको हो।
नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले केही दिनदेखि दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिल सफा गर्ने काम भइरहेको बताए।
अधिकांश रिल चल्ने अवस्थामा रहेको पाइएको उनले बताए। रिलहरू प्रोसेसिङ गर्न विशेषज्ञसँग परामर्श गरिएको उनको भनाइ छ।
दरबारभित्र रहेको यो हलमा बजारमा चल्ने फिल्म हेर्न भने पाइने छैन। दरबार संग्रहालय घुम्न लिइएको टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको छ।
वैशाखमा राजा वीरेन्द्रले शुभराज्याभीषेकमा प्रयोग गरेको बग्गी सर्वसाधारणका लागि प्रदर्शनीमा राख्ने कार्यकारी निर्देशक दाहालले बताए ।
वीरेन्द्रको विवाहको भिडिओ खिचेको रिल पनि रहेकोले त्यो पनि देखाउने तयारी छ।
दाहालका अनुसार दरबारभित्र सिनेमा हलको क्षमता एक सय जनाभन्दा बढी अट्ने छ। तत्कालीन राजा सहभागी रहेका देशविदेशका महत्वपूर्ण कार्यक्रम (इभेन्ट) का भिडिओहरूको रिल पनि सुरक्षित रहेकोले ती भिडिओ पनि सर्वसाधारणले हेर्न पाउँछन्।
२०३० सालअघिका रिलहरू पनि भेटिएका छन्। चलचित्र विकास संस्थानका पूर्वकर्मचारी तथा विज्ञले ढुसी आएका रिलहरू सफा र प्रोसेसिङका काम गरिरहेका छन्। यो हलमा पहिले प्रोजेक्टरबाट फिल्म तथा डकुमेन्ट्री देखाइने व्यवस्था थियो।