

गोरखा । सिरानचोक १ केराबारीमा जन्मिएर देश तथा विदेशमा पुगेकाहरुले रकम संकलन गरी गाउँलाई एम्बुलेन्स किनिदिएका छन् ।
केराबारी काठमाण्डौ सम्र्पक समाज र केराबारी युके सम्र्पक समाजको पहलमा संकलन भएको कुल १२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो । उक्त अभियानका लागि केरावारीमा रहेका विभिन्न संघ संस्था एवं समूहहरुले रकम संकलन गरेका थिए ।

‘सबैको सहयोगमा यो कार्य सम्पन्न भएको हो,’ वडा अध्यक्ष सुकमान गुरुङले भने, ‘काठमाण्डौंमा रहनु भएका, युकेमा रहनु भएका र गाउँमै बस्नेहरुले समेत जो सकेको सहयोग गर्नुभएको छ ।’


शनिवार एक कार्यक्रमका वीच समाजका अध्यक्ष कृष्णप्रसाद ढकाल र जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले सयुक्त रुपमा वडा अध्यक्ष गुरुङलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

सो अबसरमा बोल्दै स्थानीय समेत रहेका समन्वय समितिका प्रमुख गुरुङले भने, ‘यो निकै राम्रो काम भएको छ । अब भने गाउँलेले समयमै उपचार नपाएर मर्नु पर्दैन ।’
गोरखा भच्चेक सडकबाट नजिक रहेर पनि भौगलीक रुपमा बिकट रहेको केरवारीमा जनतालाई समयमै स्वास्थ्य संस्था पु¥याउन एम्बुलेन्स सहायक सिद्ध हुने विश्वास लिइएको गोरखा काठमाण्डौ सम्र्पक समाजका अध्यक्ष ढकालले बताए ।

एक वर्षसम्म चालकको सेवा सुबिधा पनि उक्त सस्थाहरुले नै उपलब्ध गराउने बताएका छन् । एम्बुलेन्स उपलब्ध भएसँगै सुत्केरी र वृद्धवृद्धालाई अस्पताल सम्म पु¥याउन सहज हुने विश्वास लिइएको छ ।
हस्तान्तरण कार्यक्रममा समन्वय समितिका प्रमुख गुरुङ, गाउँपालिका अध्यक्ष राजु गुरुङ, स्वास्थ्य कार्यालयका नवराज खड्का, गोरखा केरावारी युके समाजका चिजराम गुरुङ, भरत गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
