गोरखा । सिरानचोक गाउँपालिका ६ गाखुँमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी परीक्षण तथा उपचार शिविर गरिएको छ ।

सिरानचोक गाउँपालिकाको आयोजना नेपाल अष्टे«लियन सर्भाकल क्यान्सर फाउण्डेस बनेपाको प्राविधिक सहयोगमा शिविर भएको हो । गाँखु स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा आसपासका १ सय २० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

ती मध्ये १४ जनामा जटिल खालको समस्या (भि.आई.ए पोजेटिभ) देखिएको छ । ती मध्ये १ जनाको तत्काल उपचार गर्नुपर्ने भएकाले भरतपुर क्यान्सर अस्पताल रिफर गरिएको सिरानचोक गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।

आङ खस्ने समस्या भएका ११ जना महिलाहरुको पाठेघरमा रिङ राखिएको छ । परीक्षण गराएका मध्ये ३० जना महिलाको पाठेघरमा विभिन्न खालको संक्रमण पाइएको श्रेष्ठले बताए ।


शिविरमा आएका महिलाहरुलाई पाठेघर र स्तनको क्यान्सर सम्बन्धी समस्या, यसको कारण, बच्ने उपाया र उपचार पद्धतीका बारेमा समेत जानकारी दिइएको थियो ।
शिविरमा आएका महिलाहरुलाई स्त्री रोग विशेषज्ञ डाक्टर अनिता श्रेष्ठको टोलीले निः शुल्क जाँच गराउनुका साथै औषधी समेत उपलब्ध गराइएको थियो ।
