गोरखा । बलत्कारका कारण १४ वर्षको कलिलो उमेरमा एक बालिकाले बच्चा (छोरा) जन्माएकी छिन् । तर नबजात शिशुको बाबु को हो भन्ने कुरा कानूनी रुपमा अझै एकिन हुन सकेको छैन ।

पिडित परिवारका अनुसार जबरजस्ती करणीबाट उनी गर्भवती भएकी हुन् । उनको गर्भमा सात महिनाको शिशु हुर्किसकेको अबस्थामा परिवारले घटना बाहिर ल्याएका थियो ।
गोरखा नगरपालिका ८ का स्थानीय तुलबहादुर थापाले जर्बरजस्ती करणी गरेको भन्दै पिडित परिवारले कार्तिक १८ गते जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएका थियो । प्रहरीले कार्तिक २४ गते उनि बिरुद्ध मुद्धा दर्ता गरेको थियो ।

तर अहिलेसम्म उक्त घटनाका आरोपी थापालाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । ‘यो केसलाई मैले पहिलो प्राथमिकतामा राखेको छु,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले भने,‘कुनै हालतमा अपराधी उम्कन सक्दैन । ढिलो चाडो भन्ने कुरा हुन सक्ला ।’ आरोपी व्यक्तिलाई नियन्त्रणमा लिन कुनै कसर बाँकी नराख्ने उनले बताए ।
तर प्रहरीको हालसम्मको कार्य शैलीबाट परिवारका सदस्य, अधिकारकर्मी एवं अन्य सरोकारवालाहरु खुसी छैनन् । आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले ढिलाई गरेकाले कतिपयले गम्भिर आशंका व्यक्त गरेका छन् ।
‘बच्चा जन्मिएको पनि एक महिना भइसक्यो । जहिले पनि समात्छौं भन्नुहुन्छ,’ ती किशोरीका बुबा आशिस कुमारले भने, ‘तर अहिलेसम्म समात्न सक्नु भएको छैन ।’

आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले ढिलाई गरेपछि पिडितलाई थप पिडा हुनका साथै बच्चाको भविस्य अनिश्चित भएको छ । सोही अनुरुप आरोपीको नाममा बच्चाको जन्म दर्ता गराउने तयारी परिवारले गरेको छ ।
आरोपी व्यक्ति यही कतै लुकेर बस्दा पनि प्रहरीले देखेँ नदेखेँ जस्तो गरेको धेरैको आरोप छ । घटना भएको लामो समयसम्म उनी गाउँमै रहेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उक्त कुरा प्रहरी पनि स्वीकार गर्छ ।


‘घटना थाहा पाएपछि उहाँहरु पहिले आफै मिलाउन लाग्नु भएछ,’ डिएसपी दाहालले भने, ‘त्यहाँ नमिलेपछि मात्र प्रहरीको ढोका ढकढक्याउन आउनुभयो । त्यत्ति बेलासम्म भाग्नका लागि आरोपीलाई प्रशस्त टाइम समेत मिलेको देखिन्छ ।’
गत बैशाखमा डेरा नजिकैको खोलखोलेको पाखोमा निउरो टिप्न गएको बेला उनी बलत्कृत भएकी थिइन । २८ हप्तापछि गर्भपतन गर्न नपाइने कानूनी रुपमा प्रावधान भएपछि बालिकाको परिवार बच्चालाई जन्म दिने निर्णयमा थिए ।
सानो उमेरमा गर्भवती भएकाले सुत्केरी गराउन समस्या भएपनि अहिले नवजात शिशु र आमा दुबैको स्वास्थ्य भने सामान्य छ । उनलाई एक साता भन्दा बढि पोखराको एक अस्पतालमा भर्ना गरी सुत्केरी गराइएको परिवार स्रोतले बताएको छ ।
भारतको मोतिहारी जिल्ला घर भई करिब १६ बर्षदेखि गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोले क्षेत्रमा उनको परिवार आएको छ । आशिसले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् ।
