
मेलिना बराम, गोरखा । पाँचौ भेट्रान्स कपकाे उपाधी दमौलीले उचालेको छ । द ओसन क्लबको आयोजनामा तेस्रो फुटवल मेला अन्तरगत भएको पाँचौ प्रतियोगिताको उपाधी तनहुँको दमौली भेट्रान्स क्लबले जितेको हो ।
गत सोमबारबाट सुरु भएको प्रतियोगिताको फाइनलमा गोरखाको बाराही युनाइटेड क्लबलाई ३–१ गोलअन्तरले हराउदै दमौली विजयी बनेको हो । दमौलीका लागि जर्सि नम्बर १४ का कुमार श्रेष्ठ, १० का मनोज गुरुङ र ११ का केशव रानाले गोल गरेका थिए । त्यस्तै बाराहीका तर्फबाट जर्सि नम्बर २७ का सरोज श्रेष्ठले एक गोल गरेका थिए ।

विजेता दमौलीले पुरस्कार स्वरुप खसी, ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको बाराहीले समेत खसी, ट्रफी, मेडर र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

त्यस्तै मेला अन्तरगत नै भएको १३ बर्ष मुनीका खेलाडीको फुटबल प्रतियोगिताको उपाधी श्री कुुुमारी क्लब काठमाण्डौले हात पारेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङ स्थित कृतिम घाँसे मैदानमा भएको प्रतियोगितामा कुमारीले गोरखा नगरपालिका ९ को महालक्ष्मी माविलाई ७–१ गेलको फराकिलो अन्तरले हराउदै उपाधी जितेको हो । जितसंगै कुमारीले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी फुटबल मेला कै अवसरमा क्लबले गोरखाका पूराना फुटबल खेलाडी केदार थापा मगरलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । जिल्लामा फुटबल क्षेत्राको विकासका लागि महत्वपूर्ण योगदान दिएको भन्दै क्लबले थापालाई सम्मान गरेको अध्यक्ष खत्रीले बताए । उनलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले दोसल्ला र प्रशंसापत्रबाट सम्मान गरेका हुन ।

त्यस्तै क्लबले द ओसन क्लब बर्ष खेलाडीका रुपमा राजेन्द्र रिमाललाई घोषित गर्दै सम्मान गरेको छ । क्लबका तर्फबाट अघिल्लो बर्ष जिल्ला तथा जिल्ला बाहिर भएका बिभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको भन्दै रिमाललाई सम्मान गरिएको सचिव सविन केसीले सिभिलखबरलाई जानकारी दिए ।
गत सोमबारदेखि सञ्चालन भएको फुटबल मेला समेत बुधबार सम्पन्न भएको छ । मेलाको गोरखा नगरपालिकाका मेयर पन्तले समापन गरेका हुन ।


लक्ष्मीबजार हर्टक्लबका अध्यक्ष सुवास कुवँरको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले खेलकुद विकासका लागि गोरखा नगरपालिकाले बिभिन्न कार्ययोजना अघि सारेको बताएका छन् । नगरपालिकाले खेलकुद विकासका लागि प्रशिक्षण केन्द्रदेखि घाँसे मैदान निर्माणसंगै बिभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै नगरक्षेत्रबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्नेतर्फ अग्रसर भएको बताए ।
कार्यक्रमलाई सुरेन हर्ट यातायात सेवा प्रालिले मुख्य प्रायाेजन गरेकाे क्लबले जनाएकाे छ ।
