
गोरखा । गोरखामा लक्ष्य अनुसार झण्डै १५ सय जनालाई कोरोना बिरुद्धको खोप अपुग भएको छ । दोश्रो चरणको पहिलो अभियान अन्र्तगत गोरखामा करिब १० हजार ३४३ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
फागुन २३ गते देखि २५ गतेसम्म गोरखा र पालुङटार नगरपालिका सहित शहिद लखन, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकाका ६५ वर्ष माथिका नागरिकहरुलाई खोप लगाएको छ । तर प्रर्याप्त नभएपछि ८ हजार ८६० लाई मात्र खोप लगाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यो झण्डै ८५ प्रतिशत मात्र हो ।

‘खोप पर्याप्त त थिएन, आइहाल्ला भनेर सुरु गरेयौं, तर आएन,’ कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले भने,‘भएको सकियो, अब दोश्रो चरणका लागि झनै समस्या छ ।’
फागुन २७ गते देखि २९ गतेसम्म भीमसेन थापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिकामा अभियान संचालन गरिने छ । त्यसको लागि धार्चे र चुमनुब्री बाहेक अन्यमा पालिकाकाहरुका लागि आवश्यक खोप अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

‘दोश्रो चरणलाई अलिकती समस्या छ । यहाँ अफिसमा २५५ भायल छ, आरुघाटमा जम्मा १४ भायल छ,’ उनले भने, ‘धार्चे र चुमनुब्रीमा ७० भायल गइसकेको छ यो चाही करिब करिब पुग्छ होला भन्ने हो ।’
प्रदेश आपुर्ती केन्द्रले समयमा खोप उपलब्ध नगराए जिल्ला स्वास्थ्य कार्यालयमा मौज्जाद २५५ भायल बाँडफाड गरेर अभियान चलाउने योजना रहेको खत्रीले बताए । प्रदेशमा खोप आइसकेकाले जिल्लामा छिटै प्राप्त हुने उनको विश्वास छ ।
पर्याप्त खोप नभएपछि सर्वसाधरण भने रित्तै घर फर्कन बाध्य भएका छन् । ‘बालाई खोप लगाउन लगेको त सकियो पछि आउनु भनेर फर्काइदिए,’ गोरखा सदरमुकामका प्रेम घलेले भने, ‘दुई दिन नपुग्ने कती खोप ल्याएको रहेछ त ?’


दोश्रो चरणको अभियान अन्र्तगत ६५ वर्ष माथिका कुल १५ हजार ९८१ जनालाइ कोभिशिल्ड खोप लगाउने स्वास्थ्य कार्यालय गोरखाको तयारी थियो । त्यसका लागि जिल्लामा खोप अभियानका लागी ७४७ खोप केन्द्र स्थापना गरिएको छ । पहिले ५५ वर्ष माथिका सबै, शिक्षक, सार्वजानिक सवारी साधनका चालक सहचालकलाई खोप लगाउने भनिएपनि खोप प्रयाप्त नभएपछि पहिलो चरणमा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगाउन लागिएको हो ।
खोप प्राप्त भएपछि यही अभियानको दोश्रो चरणमा पूर्व निर्धारित कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयको दाबी छ । खोप लगाउनका लागि सर्वसाधरणले आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित नजिकैको स्वास्थ्य कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

अभियानको पहिलो चरणमा ४ हजार २४ जनाले खोप लगाएका छन् । यस अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वम सेबिका, एम्बुलेन्स चालक र अग्रपंतीमा खटिने केही सुरक्षाकर्मी गरी कुल १ हजार ५५९ जनालाई खोप लगाइएको थियो ।
यसरी दोश्रो चरमा सरकारी कार्यालय, संघ सस्थाका कर्मचारीहरु, सुरक्षाकर्मी, वृद्धाश्रमका वृद्धवद्धा र कर्मचारी, कारागारका कैदीवन्दी र कर्मचारीहरु गरी कुल २ हजार ४६५ जनाले खोप लगाएका छन् । सम्रगमा हालसम्म ४ हजार ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ । प्रतिशतमा हेर्दा यो ९८.७ हुन आउँछ ।
