काठमाडौं । काठमाडौंको बल्खुबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका—२ का २० वर्षीय सन्देश बानियाँ, कैलालीको धनगढी उपमहानगरपालिका—१ का ३२ वर्षीय लोकेन्द्रबहादुर मल्ल, बझाङको जयपृथ्वी नगरपालिका—४ का २४ वर्षीय कृष्णराज उपाध्याय र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५ का १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका—१४ बल्खुबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको हो ।


उनीहरुको साथबाट एक थान चितुवाको छाला, २ थान हड्डी र ११ थान दाँत बरामद भएको व्युरोले जनाएको छ ।
व्युरोका अनुसार पक्राउ परेका चारैजनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको छ ।