
गोरखा । गोरखा नगरपालिका वडा नम्बर ७ मान्द्रेढुंगामा झण्डै एक सय घरमा खानेपानीको धारा जडान भएको छ । निर्माण सुरु भएको ५ बर्षपछि मान्द्रेढुंगाका घरघरमा खानेपानी आउन थालेसंगै स्थानीय खुसी भएका छन् ।
बिभिन्न निकायको गरी ६८ लाख लगानीमा निर्माण सम्पन्न भएको मान्द्रेढुंगा लिफ्टिङ खानेपानी आयोजना अन्तरगत अहिले घरघरमा खानेपानी आउन थालेपछि निक्कै राहत मिलेको स्थानीय पार्वती थापा बताउछिन् ।
‘पहिला पानीको साह्रै दुख काटियो, मधुपानी धारामा गएर एक गाग्री पानी ल्याउदा पनि के के न जितियो जस्तो हुन्थ्यो’ उनले भनिन ‘अहिले त खान मिल्ने पानी घरमै आउछ, धेरै राहत भएको छ ।’

ब्यथा पार्वतीको मात्रै होइन, राममाया थापाको पनि हटेको छ । ‘पानीको जोहो गर्दा न मेलापात जाने समय हुन्थ्यो न अरु काममा लाग्ने फुर्सद नै, एक जना त पानी कै पछि लाग्नुपर्ने अवस्था थियो’ उनले थपिन ‘अहिले त जुनी फेरिएको जस्तो भाको छ, बिहानै घरमा पानी आउछ, न उकालो–ओरालो हिड्नुपर्ने न लाइन बस्नुपर्ने, टण्टै साफ ।’

२०७१ सालमा नेपाली काँग्रेसकी तत्कालिन साँसद कमला पन्तले जिल्ला विकास समिति मार्फत सांसद विकास कोषको बिनियोजित २३ लाख रकमबाट सुरु भएको आयोजना केहि समयपछि बजेट अभावमा अलपत्र समेत बनेको थियो । पछि गोरखा नगरपालिकाबाट सोही आयोजनाका लागि भन्दै चरणवद्ध रुपमा १८ लाख रकम थप भएसंगै आयोजनाले गति लिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर खत्रीले बताए ।

त्यस्तै आयोजना सम्पन्न गर्न खानेपानी डिभिजन कार्यालयले ५ लाख, कारितास नेपालबाट ७ लाख ७९ हजार, वडा कार्यालयबाट २ लाख, उपभोक्ताबाट नगद संकलन ८ लाख १३ हजार र ४ लाख ८ हजार बराबरको स्थानीयले श्रमदान गरेको अध्यक्ष खत्रीले जानकारी दिए ।
आयोजनाको आइतबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरे । मान्द्रेढुंगाकै कैचेधारा क्षेत्रमा ५५ घनमिटरको ट्यांकी निर्माण गरेर लिफ्टिङ प्रणालीबाट मधुपानीमा ८० घनमिटरको ट्यांकी मार्फत स्थानीयका घरघरमा खानेपानी सप्लाई गरिएको छ । हाल ८१ घरमा धारा जडान भइसकेको र बाँकी ४४ घरमा भने जडान प्रकृयामा रहेको बताइएको छ ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले नगरक्षेत्रमा एक घर एक धारा अवधारणालाई कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताए । आफू मेयर हुनुअघिदेखि नै यस खानेपानी आयोजना निर्माण गर्न समन्वयकारी भुमिका खेलेको स्मरण गर्दै उनले चुनाव प्रचारका बेला गरेको प्रतिवद्धता पूरा गर्ने अवसर मिलेको बताए ।
‘हिजोका दिनमा म चुनाव प्रचारमा आएको बेला तपाईहरुसंग गरेको वाचा आज पूरा भएको छ’ मेयर पन्तले भने ‘अब यसको रेखदेखको जिम्मा तपाईहरुको हो, सबैले जिम्मेवारी वहन गर्न जरुरी छ ।’ आयोजनाले खानेपानी समस्या मात्रै हटेको नभई यसको सदुपयोग गरी उब्जनीमा समेत लगाउन सके घरमै बसेर आम्दानीको बाटो समेत सृजना गर्न सकिने विचार ब्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले समेत पानीलाई जिविकोपार्जनको माध्यमका रुपमा लगाउनुपर्नेमा जोड दिए । कार्यक्रम कै अवसरमा मधुपानीमा ८० घनमिटरको ट्यांकी निर्माण गर्न जग्गा दान दिने देवकुमारी थापालाई दोसल्ला र कदरपत्रले सम्मान समेत गरिएको छ ।

कार्यक्रमा समितिका सचिव शान्ता भट्ट, कोषाध्यक्ष जित बहादुर थापा, राममाया पन्त, रामबहादुर रम्तेल, तिलक बहादुर खड्का लगायतले मन्तब्य राखेको सहसचिव भाइकाजी श्रेष्ठले जानकारी दिए ।
