गोरखा । बगुवामा निर्माण भएको संकलन केन्द्र तथा कृषि हाट बजार सञ्चालन गर्न कृषि विकास निर्देशनालय पोखराले डेढ महिने अल्टिमेटम दिएको छ ।

भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३० लाख रुपैया लगानीमा भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ को बगुवामा निर्माण भएको संकलन केन्द्र तथा हाट बजार २ बर्षअघिदेखि प्रयोग विहिन बनेको थियो ।

सो बिषयमा गत माघ ११ गते सिभिलखबरले ‘३० लाख लगानीमा बनेको ‘हाटबजार’ प्रयोगमा नआउदै भत्कियो’ शिर्षकमा समाचार प्रकाशन गरेसंगै निर्देशनालयको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

‘हामीले २ बर्षअघि नै हाट बजारका लागि भनेर ट्रसहरु बनाउन ३० लाख बजेट लगानी गरेका थियौ, तर चलेनचलेको कुनै जानकारी थिएन’ कृषि विकास निर्देशनालयका निमित्त प्रमुख बासुदेव रेग्मीले भने ‘अहिले फिल्डमा गएर हेर्दा समस्या देखियो, हामीले तत्काल सुरु गर्न भनेका छौ ।’

अघिल्लो हप्ता निमित्त निर्देशक रेग्मीसहितको टोलीले बगुवाको सो हाट बजारको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनमा सहभागी भएका कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीका अनुसार बैशाख १ गतेबाट हाट बजार सुरु गर्न निर्देशन दिइएको र सो वडाका वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले समेत सहमती जनाएको बताए ।
‘समाचार आएपछि हामी गयौ, वडाध्यक्ष लगायत समितिका मान्छेहरुलाई राखेर छलफल ग¥यौ’ अधिकारीले भने ‘उहाँहरु बल्ल झस्किनु भएको छ, हामी कुनै हालतमा बैशाखमा सुरु गर्छौ भन्नुभएको छ ।’


प्रदेशको ३० लाख लगानीमा बनेको सो संरचना जिर्ण समेत बन्दै गएपछि हाल मर्मतको समेत काम सुरु भएको छ । बाँकी रहेको करिब ७५ हजार रकमबाट चर्किएको र भत्केको स्थानमा मर्मतको काम भइरहेको बताइएको छ । https://civilkhabar.com/?p=19468