• मंगलबार, साउन १२ २०८३

कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि


शुक्रबार, फाल्गुन २१ २०७७
760
Shares

काठमाडौं । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए।

माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो। पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ।

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो। उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो। सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए।

उहाँका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ। यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ। सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए। उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए। उनले खोपबारे बुझाउन नसक्दा शुरुमा खोप नलगाउन मानिस हिच्किचाएकोसमेत बताए।

विश्व स्वास्थ्य संगठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए। उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए।

उनले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए। गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे। खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ।

सार्कमा माल्दिभ्स बढी
उनका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सबैभन्दा बढी माल्दिभ्समा खोप लगाइएको छ। माल्दिभ्समा २२.८८ प्रतिशत, श्रीलंकामा २.५९, बंगलादेशमा २.०३, भारतमा १.१३ र पाकिस्तानमा ०.०३ प्रतिशत जनताले खोप लगाएका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार