गोरखा । बुङ्कोटमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । शहिद लखन गाउँपालिकाको आयोजनामा वडा नं ७ बुङ्कोटमा बुधबार स्थानीय महिलाहरुको उपस्थीतीमा सचेतना कार्यक्रम गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए ।

उक्त कार्यक्रममा महिला हिंसाका स्वरुप कारण र अपराध एवं दण्ड सजायको व्यवस्था बारे जिल्ला सरकारी वकिल कार्यालय गोरखाका जिल्ला न्याधिवक्ता खिमानन्द गौतमले प्रशिक्षण दिएका थिए ।
गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, प्रहरी नायव उपरिक्षक प्रकाश दाहाल, प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ र वडा नं ८ का अध्यक्ष काशिनाथ अंगाईले महिला हिंसा विरुद्धको कानुनी, दण्ड, सजाय एवं पालिकाले निर्माण गरेका कानुन एवं महिला हिंसा विरुद्ध संचालन गरिएका विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए ।

जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, टोल विकास संस्था, निगरनी समूह, महिला समूह, शिक्षक, क्लव, सहकारी संस्था एवं समाजसेवी वुद्धिजीवी र आम सर्वसाधारण प्रति लक्षित गरी उक्त कार्यक्रम संचालन गरिएको शिक्षा शाखा प्रमुख खनालले बताए ।

महिला हिंसा न्यूनीकरण एवं रोकथामका लागि जनचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी वडा नं ७ का अध्यक्ष गणेश लम्साल, नेपाली काङ्ग्रेस वडा नं ८ का सभापती इन्द्रराज ढकाल, जनता समाजवादी पार्टीका जिल्ला सदस्य मधुकर राज वन्त, राप्रपा नेपालका प्रतिनिधी पुणर्जङ्ग भण्डारी र नागरिक अगुवा जयकुमार के.सी. ले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जिप्रका गोरखाका महिला सेलका प्रहरी सहायक निरीक्षक सावित्री पाण्डेले महिला सेलबाट महिला हिंसाको न्यूनीकरण तथा दण्ड सजायका लागि भैरहेको कार्यवारे जानकारी गराएका थिए ।
बुङ्कोट प्रहरी चौकीको प्राङ्गढमा सञ्चालित उक्त कार्यक्रमको सहजिकरण शहिल लखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले गरेका थिए ।


कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं ७ र ८ बुङ्कोटका ३०० व्यक्तिहरु सहभागी भएका थिए ।