
गोरखा । नश्ल सुधारका लागि आरुघाट गाउँपालिकाले अनुदानमा ब्याड राँगो वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७७/७८ को कार्यक्रम र बिनियोजित बजेटबाट आरुघाटका ८ वटा वडामा ब्याड राँगो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय भैसीमा क्रश गराई नश्ल सुधार गर्ने र दुध उत्पादन बढाउने उदेश्यले गाउँपालिकाले प्रति राँगो ५० हजार अनुदान उपलब्ध गराएको पशु सेवा शाखा प्रमुख इन्द्रहरी खनालले जानकारी दिए । ‘ब्याड वितरण गर्ने मुख्य उदेश्य भनेको नश्ल सुधार गर्ने नै हो’ खनालले सिभिलखबरलाई भने ‘यसले दुध उत्पादन बढ्छ, किसानहरु ब्यवसायिक बन्दै आत्मनिर्भर हुन्छन भन्ने हो ।’
गाउँपालिकाले वडा नम्बर ३ देखि १० सम्म प्रत्येक वडामा एक जना किसानलाई ५० हजार अनुदान दिई ब्याड राँगो दिएको हो । राँगो खरिद गर्दा लाग्ने ५० हजारभन्दा बाहेकको रहम भने किसान स्वयमले ब्यहोरेको खनालले बताए ।

केहि महिनाअघि गाउँपालिकाले २१ दिन सार्वजानिक सुचना प्रकाशित गरी राँगो पाल्न चाहाने किसानसंग आवेदन माग गरेको थियो ।
सोही आवेदनका आधारमा गाउँपालिकामा रहेको किसान छनौट समितिले मापदण्ड पुगेका र अनुभवी किसान छनौट गरी राँगो वितरण गरिएको खनालको भनाई छ ।तर यो कार्यक्रम वडा नम्बर १ र २ मा भने लागु नभएको बताइएको छ ।
नश्ल सुधारको माध्यमबाट आरुघाट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन गत बर्षदेखि नै बिभिन्न कार्यक्रम अघि सारिएको थियो । गत बर्ष किसानलाई भैसी वितरण गरेको पालिकाले यस बर्ष भने ब्याड राँगो दिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।
‘हामीले आरुघाट गाउँपालिकामा बाहिरको दुध आयात रोक्न सक्ने गरी कार्यक्रम अघि बढाएका छौ’ प्रमुख प्रशासकीय अधिकृत खनालले सिभिलखबरलाई भने ‘अघिल्लो बर्ष भैसी दियौ, यो बर्ष ब्याड राँगो दिएका छौ, अब छिट्टै डेरी संकलनको काम पनि सुरु गछौ ।’

त्यस्तै आरुघाट गाउँपालिकाले हरेक वडामा पाडा समेत वितरण गरेको छ । निम्न आयस्रोत भएका ५० किसानलाई लक्षित गरी पालिकाले २० हजार अनुदानमा पाडा वितरण गरेको हो । टेण्डर प्रकृया मार्फत पाडा ल्याएर हरेक वडाका ५ जना किसानलाई पाडा दिइएको प्रमुख प्रशासकीय अधिकृत खानलले बताए ।


आर्थिक स्तर कमजोर भएको, बेरोजगारी भएका युवा, एकल महिला, विपन्न तथा सिमान्तकृत समुदायको आर्थिक स्तरोन्नतीका लागि गाउँपालिकाले यो कार्यक्रम ल्याएको उनको भनाई छ ।
हालसम्म ४५ वटा पाडा वितरण भइसकेका छन् भने वडा नम्बर १ को मान्बुमा भने वितरण गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । पाडामा पालिकाले २० हजार अनुदान दिएको र बाँकी रहेको करिब १० हजार रुपैया भने किसानले ब्यहोरेको बताइएको छ ।
