
गोरखा । बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका २० जनाले बिभिन्न सिपमुलक तालिम लिन पाउने भएका छन् । गोरखामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत जिल्लाका बिभिन्न स्थानीय तहका गरी २० जनालाई सिपमुलक तालिम दिन लागिएको हो ।
नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व, हेल्भेटास नेपाललको प्राविधिक सहयोग, गोरखाका चार स्थानीय तहको साझेदारी र एकिकरण नेपालको समन्वयमा संचालित सामी परियोजना मार्फत उनिहरुले एक महिने सिपमुलक तालिम निशुल्क पाउने भएका हुन ।

चालु आर्थिक बर्षमा परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय गोरखामा रहेको आप्रवासन स्रोत केन्द्र मार्फत सूचना लिने १ हजार ३० जनामध्ये तालिमका लागि २० जनालाई सिफारिस गरिएको परियोजना संयोजक चन्द्रबहादुर देवकाटाले बताए ।
जसमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ लगायत गरी उनिहरुको इच्छाअनुसारका तालिम निशुल्क उपलब्ध गराउन केन्द्रले हेल्भेटास नेपाललाई सिफारिस गरेको उनको भनाई छ । सहभागीहरुलाई एक महिनासम्म काठमाण्डौ, पोखरा लगायतका स्थानमा निशुल्क आवासिय तालिममा सहभागी गराइनेछ ।
त्यस्तै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन परियोजनाले जिल्लामा बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताएको छ । परियोजना अन्तरगत रहेको आप्रवासन स्रोत केन्द्रले हालसम्म बैदेशिक रोजगारीका क्रममा बिभिन्न देशमा मृत्यु भएका ४ जनाको शव नेपाल ल्याउन समेत सहजीकरण एवं समन्वय गरेको आप्रवासन मनोपरामर्शकर्ता कौसिना मियाँले बताईन ।

त्यस्तै केन्द्रमा बैदेशिक रोजगारीका क्रममा भएको २ वटा ठगीका घटना समेत दर्ता भएको र सो केसलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताइन । यसैगरी विदेशमा मृत्यु भएकाको क्षतीपूर्तिका लागि समेत केन्द्रले सहजिकरण गराउदा हालसम्म २ जनाको परिवारमध्ये एकको २३ लाख र अर्कोको १ लाख ३० हजार रुपैया प्राप्त भएको मियाँले बताईन ।
यसैगरी केन्द्रबाट हालसम्म १ हजार ३० जनाले परामर्शसहित वैदेशिक रोजगार सम्बन्धि बिभिन्न सुचनाहरु प्राप्त गरेको र जसमा ७ सय २ जना पुरुष र ३ सय २८ जना महिला रहेको बताइएको छ ।
पत्रकारलाई अभिमुखिकरण
परियोजना अन्तरगत नै बुधबार बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेबारे जिल्लामा कृयाशिल पत्रकारहरुलाई अभिमुखिकरण गराइएको छ ।
कार्यक्रममा परियोजनाले जिल्लामा सञ्चालन गरिरहेका गतिविधीहरुका बारे समेत जानकारी गराइएको थियो ।

बैदेशिक रोजगारीमा जानेको अवस्था, जोखिम, चुनौती र आगामी दिनमा कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारे कार्यक्रममा छलफल भएको परियोजना संयोजक देवकोटाले बताए । सोही अवसरमा परियोजनाले हालसम्म सम्पन्न गरेका गतिविधी, प्रगतीकाबारे समेत जानकारी गराइएको थियो ।
अभिमुखिकरण कार्यक्रमलाई गण्डकी प्रदेश परियोजना अकिृत भागिराम थारु, सुशासन तथा क्षमता विकास अधिकृत भक्त कुमार राई लगायतले सहजीकरण गरेका थिए ।
गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनुपमा खनाल, एकिकरण नेपालका अध्यक्ष कृष्ण कोइराला लगायतले मन्तब्य राखेका थिए ।
जिल्लामा गोरखा नगरपालिका र पालुङटार नगरपालिकासहित शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा यो परियोजना सञ्चालनमा रहेको बताइएको छ ।


