गोरखा । जिल्लाको सिरानचोक गाउँपालिकाले व्यवसायीक कृषिलाई जोड दिएको छ । सोही अनुरुप विभिन्न वडामा किसानलाई व्यवसायीक तालिम प्रदान गरिनुका साथै ठाउँठाउँमा पशु शिविरहरु भएका छन् ।

‘कृषि हामी सबैको मुख्य पेशा हो । कृषि क्षेत्रको बिकास बिना हाम्रो बिकास सम्भव छैन,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘हामीले व्यवसायीक कृषि र पशुपालनमा जोड दिदै आएका छौं । सोही अनुरुपका नीति तथा कार्यक्रम र बजेट पनि बनाइएको अबस्था छ ।’
सोही अनुरुप वडा नम्बर ६ गाँखुमा निशुल्क पशु शिविर भएको छ । उक्त शिविरमा गाँखुका १५० जना किसानले झण्डै एक हजार पशु चौपायको उपचार गराउनुका साथै निशुल्क औषधी समेत लिएको वडा अध्यक्ष नारायणबाबु दानीले बताए ।

गाउँपालिकाको आयोजना, पशु शाखाको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको शिविरमा ३९० वटा बाख्रा, २० वटा गाई, २० वटा भैसी, १६ वटा गोरु, कुखुरा, हास र अन्य पशुचौपायको उपचार गराइएको उनले बताए ।

यसैगरी सोही वडामा व्यवसायीक किसानहरुका लागि तरकारी खेति सम्बन्धी तालिम सुरु भएको छ । तीन दिन सम्म चल्ने तालिममा बेमौसमी तथा मौसमी तरकारी खेतिको अवसर, सम्भावना र चुनौतीबारे कृषकलाई जानकारी गराउने कायक्रम छ ।

बेमौसमी खेती गर्ने तरिका, लाग्ने सक्ने रोगकिरा, नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानी, बजार माग, आम्दानी लगायतका बारेमा कृषि शाखाका प्राविधिकहरले प्रशिक्षण गराइरहेका छन ।


तालिमको एक कार्यक्रमका वीच मंगलबार गाउँपालिका अध्यक्ष राजु गुरुङले उद्घाटन गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष नारायण दानी, कृषि शाखाका कर्मचारी, कृषक लगायतले मन्तव्य राखेका थिए ।