काठमाडौं । धादिङमा एक्साभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै खाल्डोमा हालेर पुरेको खुलेको छ।
त्रिपुरासुन्दरी–१ सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई एक्साभेटर चालक भीमबहादुर बुढाथोकीले सोमबार दिउँसो जिउँदै खाडलमा पुरेको स्थानीयले बताएका छन्।
बुढाथोकी त्रिपुरासुन्दरी—१ सल्यानटारको खोल्सी जिपजिपे सडक निर्माणमा खटिएका एक्साभेटर चालक हुन्।
घाँसको भारी बोकेर घर फर्किंदै गरेकी कुमाललाई एक्साभेटररले ठक्कर दिँदा उनी खाल्डोमा खसेकी थिइन्। चालक बुढाथोकीले खाडलमा खसेकी महिलालाई उद्धार नगरी खाल्डोमा ढुंगामाटो खन्याएर पुरेका स्थानीयको आरोप छ।
खाल्डोमा मान्छे खसेको र चालकले माथिबाट माटोले पुर्दै गरेको दृश्य बसका यात्रुले देखेपछि हल्लाखल्ला भएको थियो।
घटनापछि चालक बुढाथोकी फरार भएको प्रहरी नायव निरीक्षक (सई) भानुभक्त आचार्यले जानकारी दिए। चालक भागेपछि सडक निर्माणमा खटिएका मजदुरले खाल्डो खनेर कुमाललाई बाहिर निकालेका थिए। त्यतिबेलासम्म कुमालको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
कुमालको शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनापछि स्थानीयले एक्स्काभेटरमा ढुंगामुढा गर्नुको साथै आगजनीसमेत गरेका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।