गोरखा । छेवेटारमा सुविधासम्पन्न बहुउपयोगी सामुदायीक भवन निर्माण भएको छ । गोरखा नगरपालिका १० को छेवेटारमा बिभिन्न क्षेत्रको प्रयोजन गर्न मिल्ने गरी झण्डै ५ सय जना अट्ने बहुउदेश्यि भवन निर्माण भएको हो ।

गोरखा नगरपालिकासँगको सहकार्यमा आइओएम नामक अन्तराष्ट्रिय संस्थाले १ करोड ६ लाख ९६ हजार रुपैयाको लगानीमा निर्माण गरेको हलको सोमबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । भवनको गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र आइओएमकी नेपाल प्रमुख लोरेना लेण्डोले सयुक्त रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै मेयर पन्तले नगरपालिकाले विपदको पूर्वतयारीका लागि सबै वडामा खुला क्षेत्रको पहिचान गरी ब्यवस्थापन गरिरहेको बताए । विपद र प्राकृतिक प्रकोपको सामना गर्न स्रोत साधान र पूर्वतयारीलाई प्रभावकारी बनाउन आफु लागि परेको बताउदै उनले गोरखा नगरपालिका विपद ब्यवस्थापनमा सक्षम बन्दै गएको बताएका छन् ।
जनताबाट जनताका लागि सहयोग पुर्नलाभ र पुर्ननिर्माणद्धारा उत्थानशिल समुदाय निर्माण पिटुपी परियोजना अन्र्तगत उक्त बहुउदेश्यि सामुदायीक केन्द्र निर्माण गरिएको गोरखा नगरपालिकाका धुब्र घिमिरेले जानकारी दिए ।

खानेपानी, शौचालय, एसी लगायत आवस्यक सामाग्रीहरुको ब्यवस्थापन समेत भवनमा गरिएको छ । करिब २ रोपनी सार्वजानिक जग्गामा निर्माण गरिएको उक्त भवन विपद् प्रभावितलाई आश्रय दिन अन्य विभिन्न काममा स्थानीयले प्रयोग गर्न सक्नेछन् ।
उक्त भवन बनेपछि गोरखा नगरपालिका १० छेवेटार आसपासका सर्वसाधरणलाई सार्वजानिक कार्यक्रम बैठक, सेमिनार लगायतका लागि समेत सहज हुने विश्वास लिइएको छ । कार्यक्रममा बोल्दै आइओएमकी नेपाल प्रमुख लोरेना लेण्डाले विपद्मा परेका नेपाली जनतालाई सहयोग गर्न पाएको खुसी लागेको बताइन् ।

कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर १० अध्यक्ष देवीबहादुर बस्नेतले बनेको संरचनाको संरक्षण सही सदुपयोग गर्न स्थानीयहरु लाग्नु पर्ने बताए । सो अबसरमा आइओएमले भवनसंगै विपद्का समय प्रयोग गरिने अत्यावश्यक करिब ३० यन्त्र उपकार र सामाग्री पनि गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।


