
गोरखा । स्थानीय किसानका उत्पादनलाई बजारसम्मको पहुँचमा पु¥याउन भन्दै पालुङटारमा हाट बजार सुरु भएको छ । पालुङटार नगरपालिकाले वडा नम्बर ४ स्थित बाह्रपिर्केमा झण्डै ३ रोपनी क्षेत्रफलमा हाट बजार निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
हाटबजारको शनिबार एक कार्यक्रमका बिच उपप्रमुख पम्फा बसेलले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख बसेलले हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादनले बजार पाउने बताएकी छिन् ।
‘यो हाटबजार बाहिरको सामान ल्याएर बेच्ने ठाउँ होइन’ उनले भनिन ‘हाम्रा किसानले फलाएका बस्तुहरुले अब बजार पाउँछ्, मुल्य पाउँछ ।’

पालुङटार नगरपालिकाको १२ लाख र युएनडिपीको आर्थिक सहयोगमा पद्धती विकास सेवा केन्द्रको १२ लाख गरी २४ लाख लगानीमा बाह्रपिर्केमा २ वटा हाटबजारका संरचना निर्माण गरिएको छ । हाटबजारमा स्थानीय किसानका उत्पादनलाई प्राथमिकता दिने बताइएको छ ।
‘अहिलेसम्म पालुङटारमा बजारको राम्रो ब्यवस्थापन नै थिएन, हामीले सुरुवात गरेका छौ, अब यहाँका किसानले फलाएका जे सुकै बस्तुहरु पनि यहाँ ल्याएर बेच्न पाउनेछन’ उपप्रमुख बसेलले भनिन ‘यसले बिचौलियातन्त्रको पनि अन्त्य हुन्छ भन्ने विश्वास हो ।’

यता प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा समेत हाटबजारमा बाहिरी आयातलाई निरुत्साहित गरिने बताउछन् । सामान्य किसानलाई समेत बजारसम्मको पहुँचमा पु¥याएर उनिहरुलाई आत्मनिर्भर बनाउने हाटबजारको मुख्य उदेश्य रहेको शर्माले बताए ।
‘सकेसम्म हामी बाहिरी बस्तुहरुलाई हाटबजारमा स्थान दिदैनौ’ अधिकृत शर्माले भने ‘किसानलाई ब्यवसायिक बनाउदै उनिहरुको उत्पादनलाई सहज बजार ब्यवस्थापन गर्नु हाम्रो उदेश्य हो ।’

महिनाको दोस्रो शनिबार र अन्तिम शनिबार सञ्चालन गरिने हाटबजारको ब्यवस्थापन भने एकिकृत बहुउदेश्यीय प्राली च्याङ्लीले गर्ने बताइएको छ । उक्त प्रालि नगरपालिकाले आह्वान गरेको टेण्डर प्रकृया मार्फत छनौट भएको इन्जिनियर अनुप देवकोटाले बताए ।

सो प्रालिले हाटबजार सञ्चालन गरे वापत नगरपालिकालाई बार्षिक रुपमा ६३ हजार रुपैया भाडा तिर्ने सहमती भएको देवकोटाको भनाई छ । हाटबजार सञ्चालन भएसंगै क्रेता र बिक्रेताबिच सिधै कारोबार हुने भएकाले बिचौलिया प्रथा हट्ने समेत नगरपालिकाले विश्वास लिएको जनाएको छ ।


शनिबारबाट हाट बजार सुरु गरेको पालुङटारले कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । जसबाट किसानले आफ्नो घर वा बारीबाट हाटबजारसम्म आफ्ना उत्पादन ढुवानी गर्दा भाडामा ५० प्रतिशत अनुदान पाउने बताइएको छ । घर आँगनमै हाटबजार सञ्चालनमा आएपछि किसान र उपभोक्ताहरु समेत उत्साहित भएका छन् ।

