
गोरखा । जोखिम न्यूनीकरण र पूर्वतयारी नामक सचेतनामूलक पुस्तक आज लोकार्पण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराई र जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुंङ्गले सदरमुकाममा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गरेका हुन ।

मनसुनजन्य विपद्का कारण क्षति भएका निजी आवासको पुनर्निर्माण लगायत विविध विषयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पुस्तक लोर्कापण गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले प्राकृतिक विपद् जोखिम न्यूनीकरण कसरी गर्ने र पूर्व तयारी अवस्थामा रहने भन्ने सम्बन्धी सचित्र विवरण समेटिएको पुस्तकले समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।

भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना, गोरखाले प्रकाशन गरेको पुस्तक गोरखाका प्रत्येक पालिका तथा वडामा पुर्याईने परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए ।
पुस्तकमा भुइँचालो, पहिरो, उच्च हावाको बहाव, आगलागी, बाढी र चट्यांग जस्ता विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीबारे सचित्र जानकारी समेटिएको उनको भनाई छ ।

