• शनिबार, साउन २३ २०८३

पशुपतिमा ८० करोडको सुनको जलहरी राखियो


बुधबार, फाल्गुन १२ २०७७
1.2K
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा ८० करोड रुपैयाँको सुनको जलहरी राखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार क्षमापूजा गरेपछि उक्त जलहरी राखिएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राष्ट्रपति भण्डारीले पुजा गरेपछि एक सय आठ केजी सुनको जलहरी स्थापना गरिएको बताए।

शिवलिंगको पानी झर्ने ठाउँलाई जलहरी भनिन्छ। जलहरीको लम्बाइमा शिवलिंगकै जति हुन्छ।

यसअघि चाँदीको जलहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको राख्न निर्देशन दिएपछि कोषले बुधबार सुनको जलहरी राखेको हो।

कोषले जलहरीका लागि आवश्यक पर्ने १०८ किलो सुन खरिद गर्न ८० करोड रुपैयाँ लाग्ने एस्टिमेट तयार गरेको थियो। जसमा सरकारले ३० करोड र कोषले ५० करोड रुपैयाँ लगानी गरेको थियो। राष्ट्र बैंकबाट उक्त परिणामको सुन ल्याइएको हो।

जलहरीसहित मन्दिरको छाना तथा बसाह मर्मतका लागि जम्मा १४२ केजी सुन किन्ने योजना भएपनि अहिले जलहरीका लागि १०८ केजी सुन्न किनिएको कोषले जनाएको छ।

तर, जलहरी फेर्ने काम विवादमा परेको छ। चाँदीको स्थानको सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत हुने भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन्।

ऐनको दफा १२ को खण्ड ग मा कुनै पुरातात्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरेमा त्यस्तो पुरातात्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ।

उक्त व्यवस्था उल्लंघन गरेको भन्दै वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा रिट समेत दायर गरेका छन।

अदालतले छलफलका लागि दुवै निवेदकलाई बुधबार बोलाएका बेला पशुपतिमा सुनको जलहरी राखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार