गोरखा । गोरखाको वारपाकमा एकै परिवारका तिन जना मृत अवस्थामा फेला परेका छन् । पारपाक सुलिकोट गाउँपालिका १ को धामी तोराङमा बेलुका संगै सुतेका तिन जना घरभित्रै मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा ८४ बर्षका दिलबहादुर गुरुङ, २२ बर्षिया आईतकुमारी गुरुङ र १३ बर्षिया उषा गुरुङ रहेका छन् । दिलबहादुर र आईतकुमारी ससुरा बुहारी हुन भने उषा उनीहरुका नातेदार भएको स्थानियले बताएका छन् ।
स्थानिय खेम घलेका अनुसार आज बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तिनै जना मृत्त अवस्थामा देखीए पछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनाका बारे थप अनुसन्धानका लागि जौबारी प्रहरी चौकीबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली वारपाक जादै गरेको गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।
बेलुकाको खानामा उनिहरुले च्याउ खाएको समेत स्थानीयले बताएका छन् । सोही कारणले उनिहरुको मृत्यु भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।