• शनिबार, साउन २३ २०८३

जुवा र मदिरा नियन्त्रण गर्न शहिद लखनमा ‘ऐन’


बिहिबार, फाल्गुन ६ २०७७
980
Shares

गोरखा । शहिद लखन गाउँपालिकाको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । सभाले विभिन्न ऐन तथा कार्यविधि निर्माण तथा संशोधन गरेको छ ।

सभाले शहिद लखन गाउँपालिकाको जुवा (नियन्त्रण तथा नियमन) ऐन २०७७, मदिरा (नियन्त्रण, व्यवस्थापन तथा नियमन) ऐन २०७७, जलश्रोत ऐन, २०७७, वन ऐन, २०७७ शिक्षा ऐन २०७५ (पहिलो संसोधन २०७७), स्वास्थ्य सेवा ऐन २०७५ (पहिलो संसोधन २०७७) गरी ५ वटा समसामयिक र आवश्यक ऐनहरु स्वीकृत गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले पेस गरेको विनियोजन ऐनलाई संसोधन गर्न बनेको विधेयक २०७७ पेश समेत पारित गरेको छ ।

सभाले गाउँपालिका स्तरीय १५ शैयाको शहिद लखन अस्पताल निर्माण, कोभिड १९ अस्थायी अस्पताल निर्माण, सुरक्षित नागरिक आप्रवासन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण, गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माणका लागि बजेट व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आलेले जानकारी दिए ।

संघ सरकाबाट प्राप्त भएको थप अनुदान तथा बजेट र जिल्ला समन्वय समिति एवं प्रदेश सरकार अन्तर्गत भूतथा जलाधार व्यवस्थापन कार्यालय मार्फत प्राप्त बजेट समेत गरी कुल ४ करोड ७३ लाख २ हजार ५ सय २० रुपैयाँको बजेट स्वीकृत गरिएको छ ।

साथै सातौँ गाउँसभाबाट विनियोजन कार्यक्रम, योजना तथा बजेट मध्ये गाउँ कार्यपालिका बैठकहरुबाट आवश्यकता र औचित्यताका आधारमा भएको रकमान्तर एवं विस्तृतीकरणलाई समेत अनुमोदन गरेको उक्त गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँ सभा अन्तर्गत संगिता थापाको संयोजकत्वमा मिस्टरबाबु श्रेष्ठ र इश्वर श्रेष्ठ सदस्य रहनुभएको ३ सदस्यीय सुशासन समिति गठन गरिएको छ । यसैगरी चेतबहादुर थापा मगरको संयोजकत्वमा शोभा नेपाली र दुर्गा गुरुङ्ग सदस्य रहने गरी विधायन समिति र गिता परियारको संयोजकत्वमा गोपालबहादुर राना र अकबहादुर गुरुङ्ग सदस्य रहने गरी लेखा समिति गठन गर्ने निर्णय समेत गाउँसभाले गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले पेस गरेको कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रम समेत स्वीकृत गरेको छ । उक्त पाठ्यक्रममा गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, सम्पदा तथा क्षेत्रहरुको परिचय, स्थानीय जनजीवन, पेशा व्यवसाय, सामाजिक मूल्य मान्यता र प्रकोप तथा विपद् व्यवस्थापन लगायतका विषय क्षेत्रहरु समावेश गरिएको छ ।

उक्त गाउँपालिकाले आ.व. को हालसम्म कुल १९ करोड ३० लाख ६ हजार ५ सय ३९ रुपैयाँ अर्थात ३१ प्रतिशत बजेट खर्च गरेको छ । हालसम्म २३ लाख ४८ हजार ३ सय ३९ रुपैया (लक्ष्यको २९ प्रतिशत) राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत आलेले जानकारी दिए । उक्त गाउँसभामा गाउँपालिकाको चालु आ.व. मा भएको नीतिगत एवं महत्वपूर्ण निर्णय र कार्यक्रम तथा योजना कार्यान्वयनको प्रगति अवस्थाबारे समेत गराएको थियो । बैठक गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षता भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार