• शनिबार, साउन २३ २०८३

सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गरिँदै, कति पर्छ मुल्य ?


बिहिबार, फाल्गुन ६ २०७७
635
Shares

काठमाडौं । सरकारले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । अब सवारीको क्रमैसँग लट नम्बर तोकेर पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार नयाँ नम्बर प्लेट लिने सवारीलाईपनि यही प्लेट जोड्नुपर्ने व्यवस्था निकट भविष्यमै गरिनेछ ।

पटक-पटकको विवाद र बहसपछि विभागले माघ महिनाबाट फेरि सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड प्लेटको जडान सुरु गरेको थियो । सरकारी नम्बर प्लेटका सवारीलाई भने विभागले चैतसम्म इम्बोस्ड प्लेट जोडिसक्न समयसीमा दिएको छ ।

अब इम्बोस्ड प्लेटको जडानलाई गति दिन नामाकरण भइसकेका प्रदेशहरुमा अनिवार्य गर्ने तयारी अघि बढाइएको हमाफले बताए । अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ । प्रदेश १ र २को नामाकरण भने टुंगिन बाँकी छ ।

सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ ।  ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यो शुल्क महँगो भएको गुनासो आएपनि विभागले यही शुल्क कायम रहने बताएको छ ।

यसअघि नै प्लेट जोड्दा शुल्क तिरिसकेका सवारीलाई पनि फेरि शुल्क तिर्न बाध्य पार्ने गरी सरकारले इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्न लागेको छ ।  महानिर्देशक हमालले इम्बोस्ड नम्बर प्लेटबारेका सबै विवाद समाधान भएकोले अब पुरानो योजनाअनुसार नै अगाडि बढ्न लागिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार