गोरखा । सुरुवाती चरणदेखि नै गोरखा बजार आयुर्वेद औषधालय सञ्चालनमा ल्याएको गोरखा नगरपालिकाले आयुर्वेद स्वास्थ्य उपचारका बिभिन्न सेवालाई अघि बढाएको छ ।
वडा नम्बर ८ को खोलखोलेबाट औषधालय सेवा दिइरहेको नगरपालिकाले बिभिन्न रोगका बिरामीलाई मध्यनजर गर्दै शिरोधारा, सर्वाङ्ग स्वेदन सेवा समेत थप गरेको छ । विशेष गरेर बाथ रोगका समस्या भएकाहरुलाई बिभिन्न जडिबुटीको बाफ दिन स्वेदन सेवा सुरु गरेको वैद्य निरिक्षक जीवन कुमार श्रेष्ठले बताए ।

त्यस्तै पिनास, मानसिक समस्या, टाउको दुखाई लगायतका समस्या भएकाहरुलाई शिरोधारा सेवा समेत सञ्चालनमा ल्याएको उनले बताए । सो सेवाको मंगलबार नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले उद्घाटन गरेका हुन ।
वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले आयुर्वेद स्वास्थ्य उपचारको पद्धतीको जर्गेनाका साथै प्रचार प्रसार गर्नका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिए । कार्यक्रममा औषधालय ब्यवस्थापन समितिका उपाध्यक्ष भिषण अर्यालले स्वागत मन्तब्य राखेका थिए ।
औषधालयले यसअघि देखि नै बिभिन्न रोगका बिरामीहरुलाई आयुर्वेदिक औषधीहरु निशुल्क रुपमा वितरण गर्दै आएको र बिभिन्न वडाहरुमा स्वास्थ्य शिविरहरु समेत सञ्चालन गर्दै आएको जनाएको छ ।
