गोरखा । गण्डकी प्रदेश सरकारले तेस्रो बार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश मातहतका १२ कार्यालयलाई सम्मान गरेको छ ।
मंगलबार पोखरामा आयोजित कार्यक्रममा गोरखा सहित ११ वटै जिल्लाका बिभिन्न कार्यालयलाई प्रदेश सरकारले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरेको मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता झलकराम सुवेदीले सिभिलखबरलाई बताए ।


जसमा गोरखाको कृषि ज्ञान केन्द्रलाई नमुना कार्यालयका रुपमा सम्मान गरिएको छ । आर्थिक बर्ष २०७६/७७ मा कार्यालयले गरेको सेवा प्रवाहको मुल्यांकनका आधारमा सरकारले सम्मान गरेको प्रवक्ता सुवेदीको भनाई छ ।
जसमा भौतिक, वित्तिय प्रगती, कार्यालय ब्यवस्थापन, सरसफाई, सेवा प्रवाह, कार्यक्रम कार्यान्वयनको प्रकृया अवस्था लगायतको क्षेत्रमा प्रदेश सरकारको टोलीले मुल्यांकन गरिएको थियो । ‘यो मुल्यांकन अघिल्लो आर्थिक बर्ष नै भइसकेको थियो’ सिभिलखबरसंग उनले भने ‘सरसफाई लगायतका सामान्य कुराहरु अहिलेपनि हेरिएको हो तर कार्यप्रगती लगायतका मुख्य बिषयहरु भने पहिल्यैको हो ।’
गत आर्थिक बर्ष कृषि ज्ञान केन्द्र गोरखाले ९० प्रतिशत भन्दा बढी भौतिक प्रगती र वित्तिय प्रगतीमा प्रदेश तर्फ ८५ प्रतिशत हासिल गरेको कार्यालयले यसअघि आयोजना गरेको सार्वजानिक सुनुवाईका क्रममा तत्कालिन प्रमुख मनिता थापाले बताएकी थिइन । केहि समयअघि थापाको कृषि ज्ञान केन्द्र पर्वतमा सरुवा भएको छ भने गोरखामा परशुराम अधिकारी आएका छन् ।

त्यस्तै बार्षिकोत्सवका अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरालाई समेत उत्कृष्ट कार्यालयका रुपमा सम्मान गरिएको छ । त्यस्तै डिभिजन वन कार्यालय तनहुँ, मनाङ र म्याग्दीले समेत उत्कृष्ट काार्यसम्पादन गरेको भन्दै प्रदेश सरकारले सम्मान गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
यसैगरी सम्मानित हुने अन्य कार्यालयहरुमा धौलागिरी अस्पताल बाग्लुङ, मुस्ताङ अस्प्ताल, कृषि ज्ञान केन्द्र पर्वत, रेशम विकास कार्यक्रम स्याङ्जा, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की, लमजुङ र पूर्वाधार विकास कार्यालय नवलपुर रहेको उनको भनाई छ । सम्मानित हुने कार्यालयका प्रमुखहरुलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नगद सहित प्रमाणपत्रबाट सम्मान गरिएको बताइएको छ ।