गोरखा । डेढ बर्षभित्र मानव सेवा आश्रम गोरखा शाखाको आफ्नै भवन बन्ने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को आलेगाउँ पारीचौरमा आश्रमको भवन निर्माण हुन लागेको हो । करिब १० रोपनी क्षेत्रफलमा बन्न लागेको भवनको मंगलबार शिलन्यास भएको छ ।

मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक इश्वरकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । भवनको आश्रमका प्रमुख संरक्षक डा.गोबिन्द टण्डन, गोरखा नगरपालिका मेयर पन्त, उप मेयर बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिका मेयर ई.दिपकबावु कडेल र उप मेयर पम्फा बसेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले मानव सेवा आश्रमको अभियानलाई सार्थकता बनाउने दायित्व स्थानीय तहको समेत रहेकाले जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका छन् । ‘मानवसेवाले गरेको काम स्थानीय तहले गर्नुपर्ने थियो तर उहाँहरुले गरिरहनुभएको छ, यो हाम्रो लागि अत्यन्तै खुसीको कुरा हो’ उनले भने ‘तर यो अभियानलाई अघि बढाउन हाम्रो पनि जिम्मेवारी र दायित्व उत्तिकै छ, यसबाट हामी कोही पनि भाग्न मिल्दैन ।’
त्यस्तै पालुंटार नगरपालिकाका मेयर कडेंलले आश्रमसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । ‘यो अभियान हामी सबैको साझा अभियान हो, यसमा हामी तिनै तहका सरकार र सारा नेपाली जोडिन जरुरी छ’ मेयर कडेंलले भने । भवन निर्माणका लागि करिब १० रोपनी क्षेत्रफल जग्गा गोरखा नगरपालिकाले ५० बर्ष आश्रमलाई भोगचलनका लागि अधिकार दिएको छ ।

साढे ६ करोड रुपैया लागत लाग्ने अनुमान गरिएको भवन ६ तलाको बन्ने निर्माण समितिका संयोजक मास्केले बताए । जसका लागि यसै बर्ष गोरखा नगरपालिकाले २० लाख रुपैया विनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले ५० लाख छुट्याएको उनको भनाई छ ।
५ बर्षअघि गोरखा नगरपालिका ६ तिनधारेमा भाडाको घरबाट सञ्चालनमा आएको आश्रममा हाल ४१ जना अभिभावकविहिन बालबालिकाहरुले आश्रय लिदै आएको केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए ।
मकवानपुरको हेटौडामा मुख्य कार्यालय रहेको आश्रमको देशका बिभिन्न जिल्लामा शाखा समेत रहेका छन् । तर गोरखा शाखामा भने बालबालिकालाई मात्रै आश्रय दिदै आएको र अन्य नागरिकलाई अन्य शाखामा पठाइने गरेको बताइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा उद्योग बाणिज्य संघमा अध्यक्ष जीवनज्योति श्रेष्ठ, गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृण्णबहादुर खत्री लगायतले मन्तब्य राखेका थिए ।
