गोरखा । आइतबारबाट दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणका लागि आवश्यक खोप र लक्षित समूह निर्धारण भएसँगै लगाउन थालिएको हो ।
‘हामीलाई प्राप्त निर्देशन अनुसार दोश्रो चरणको खोप लगाउने काम सुरु गरेका छौं,’ स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख नरजंग ठकुरीले भने, ‘नेपाल सरकारको परिपत्र अनुसार नै खोप कार्यक्रम सञ्चालन हुन्छ ।’
दोश्रो चरणमा ३ हजार ५२ जनालाई खोप लगाइदैछ । सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, संचारकर्मी तथा पत्रकार र जनप्रतिनिधिलाई खोप लगाउने तयारी छ ।
त्यसका लागि जिल्लामा थप २ हजार १० डोज खोप प्राप्त भइसकेको उनले बताए । यस अघि प्राप्त २ हजार १० डोज मध्ये हालसम्म १ हजार ५५९ मात्र खर्च भएको छ । ‘लिस्ट पठाउँदा २ वटा सरकारी कार्यालय छुटेको रहेछ । त्यहाँको पनि नाम पठाइएको छ,’ ठकुरीले भने, ‘त्यसैले पनि अहिले निर्धारण गरिएको संख्या स्वतः बढिहाल्छ । संख्या बढेपनि खोपको अभाव रहदैन । अपुग भएछ भने थप डोज माग गर्न सकिन्छ ।’
पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेबिका, एम्बुलेन्स चालकहरुले पनि खोप लगाउन सक्नेछन् । दोश्रो चरणको खोप अभियान सञ्चालन गर्नका लागि जिल्ला अस्पताल, जैबारी प्राथामिक स्वास्थ्यकेन्द्र, चुमनुब्री गाउँपालिका, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट स्वास्थ्य केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको छ ।
‘जिल्ला अस्पतालमा दुईवटा केन्द्र कायम गरिएको छ । यहाँ गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, शहिद लखन र गण्डकी गाउँपालिकाका लाभग्राहीले खोप लगाउनु हुनेछ,’ उनले भने, ‘चुमनुब्री गाउँपालिकालाई लक्षित गरिए एउटा केन्द्र राखेका छौं ।’
धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिकाका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाइने उनले बताए ।
आइतबार पहिलो दिन जिल्ला अस्पतालमा ११८ जनाले खोप लगाएका छन् । ८ गतेसम्म चल्ने खोप अभियान जिल्ला अस्पताल बाहेकअन्य ठाउँमा भने ४ गतेबाट मात्र सुरु हुने बताइएको छ । नेपालमा अहिले भारत सरकारद्धारा अनुदान प्राप्त कोभिशिल्ड खोप लगाईदैछ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि अग्रपङ्तीमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाएको छ । त्यसपछि सर्वसाधरणलाई पनि लगाउने सरकारको तयारी छ ।