गोरखा । गोरखा नगरपालिका प्रविधीमैत्री बन्दै गएको छ । सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा दिनको लागि भन्दै नगरपालिकाले आफ्नो कार्य सम्पादन प्रणलीलाई प्रविधी मैत्री बनाउदै लगेको जनाएको छ ।

अघिल्लो बर्षदेखि नै १४ वटै वडाबाट अनलाइन मार्फत राजश्व संकलन लगायतका कामको थालनी गरेको नगरपालिकाले आइतबारबाट ब्यक्तिगत घटना दर्तालाई समेत अनलाइन प्रणालीमा लगेको हो । ‘हामी कागजी प्रयोगलाई बिस्तारै कम गर्दै नगरपालिकाका हरेक जसो सेवा प्रवाहलाई डिजिटल बनाउने प्रकृयामा छौ’ नगरप्रमुख राजनराज पन्तले भने ‘परम्परागत ढड्डा सिस्टमको झण्झटलाई हटाउदै अनलाइन प्रणाली मार्फत आफ्नो सेवालाई चुस्त बनाउने हाम्रो उदेश्य हो ।’
अनलाइन प्रणाली मार्फत सेवा दिदा सजिलो र छिटो समेत हुने विश्वास कार्यालयको छ । यसअघि ढड्डा र कागजी प्रकृया मार्फत गरिदै आएको ब्यक्तिगत घटना दर्ताको कामलाई आइतबारबाट नगरपालिकाका १४ वटै वडा कार्यालयमा एकै साथ सुरु गरेको जनाएको छ । वडा नम्बर ६ को कार्यालयबाट नगरप्रमुख पन्तले प्रायुशी गुरुङको जन्मदर्ताको प्रमाणपत्र जारी गर्दै सो प्रणालीको शुभारम्भ गरेका हुन ।

ब्यक्तिगत घटना दर्ता अन्तरगत जन्मदर्तासंगै मृत्युदर्ता, बसाईसराई, विवाह दर्ता र सम्बन्ध विच्छेदका सेवा पर्ने बताइएको छ । जुन यसअघि हस्तलिखित ढड्डा प्रणाली मार्फत सुचना संकलन र प्रमाणपत्र जारी हुदै आएको थियो । शुभारम्भ कार्यक्रम वडाध्यक्ष नारायण अर्यालको अध्यक्षतामा भएको हो ।
यो प्रणालीबाट सेवा सुरु भएसंगै अब जहाँ जुनसुकै स्थानमा बसेर पनि ब्यक्तिगत घटना दर्ताका लागि निवेदन दिन र विवरण पठाउन सकिने सामाजिक विकास शाखा अन्तरगत सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकी शोभा दवाडीले बताइन ।
१८ बर्ष नाघेका सुचकले दिएको सुचनाका आधारमा विवरण र कागजात प्रमाणित गरी तत्कालै प्रमाणपत्र जारी हुने उनको भनाई छ । यसले सेवाप्रवाहमा छिटो, छरितो हुने र विवरण समेत अनलाइन प्रविष्ट हुने हुदा जुनसुकै बेला पनि सहजै खोज्न सकिने दवाडीले बताइन ।

यसअघि गोरखा नगरपालिकाले आफ्नो बिभिन्न सेवालाई अनलाइन प्रणालीमा समावेश गरिसकेको जनाएको छ । जसमा अघिल्लो बर्षबाटै सबै वडाबाट राजश्व संकलनको कामलाई अनलाइन प्रणालीमा लगिएको थियो ।
त्यस्तै नगरक्षेत्रका मुख्य मुख्य बजार क्षेत्रहरुको सुरक्षाका लागि निगरानी गर्न गोरखा सदरमुकाम, बिरेनचोक, बाह्रकिलो, अबुवा लगायतका क्षेत्रमा गरी करिब ६० वटा सिसि क्यामेरा जडानको काम समेत सम्पन्न गरिसकेको कार्यालयका सुचना प्रविधी अधिकृत सुयोग खनालले बताए ।
त्यसैगरी यसै चौमासिकबाट सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणालीमा लगिएको छ भने नगरपालिकाको सेवा प्रवाहका बारे कार्यालयमा डिजिटल नागरिक वडापत्र, बसपार्कमा सुचना संप्रेशण डिजिटल बोर्ड राखिएको उनले बताए ।
यससंगै गोरखा प्रवेश नाका मझुवा देउरालीमा निर्माणाधिन गोरखा गेटमा डिजिटल बोर्डसंगै सवारी आवतजावतको सम्पूर्ण विवरण अटोमेटिक अनलाइन दर्ता हुने प्रणाली समेत स्थापना गर्ने योजना अघि बढेको खनालको भनाई छ ।