काठमाडौं । वालिङ नगरपालिका स्याङ्जाले महिला राष्ट्रिय लिगमा बिहीबार चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७—१ गोलले पराजित गरेको छ।
वालिङको जितमा क्यामरुनी फरवार्ड मेथो रुथले पाँच गोल गरिन्। अर्की क्यामरुनी खेलाडी टोउआ नोएलीले २ गोल थपिन्। चौदण्डीगढीका लागि अन्जना थुलुङले एक गोल गर्न सफल भइन्।
मेथोले खेलको २५ मिनेटमा पहिलो गोल गरेकी थिइन्। ३२ मिनेटमा चौदण्डीगढीकी अन्जनाले बराबरी फर्काउन सफल भए।
३४ मिनेटमा मेथोले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेर वालिङलाई दोस्रो पटक अग्रता दिलाइन्।
४४ मिनेटमा मेथोले ह्याट्रिक पूरा गर्दा वालिङ पहिलो हाफमा ३—१ गोलले अघि रह्यो।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा उनले टिमका लागि चौथो गोल गरिन्।
उनी यतिमा रोकिइनन्। ५५ मिनेटमा पाँचौ गोल गर्दै वालिङलाई ५—१ ले अघि बढाइन्।
नेएलीले खेलको ७१ र ७२ मिनेटमा गोल गरेपछि वालिङ फराकिलो जिततर्फ अघि बढेको थियो।