काठमाडौं । सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ ।
मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो ।
यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि खोप दिइनेछ ।
तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
