• मंगलबार, साउन १२ २०८३

कर्णालीका सात जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा


बुधबार, माघ २८ २०७७
690
Shares


कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो।

दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो। ती जिल्लाका सबै संक्रमित निको भएसँगै संंक्रमण शून्य देखिएको हो। कर्णाली तीन जिल्लामा मात्र कोरोना संक्रमणका सक्रिय बिरामी छन्।

सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेशनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेशनमा बसेका छन्।

कर्णाली प्रदेशमा ९७ हजार २३९ जनामा पीसीआर परीक्षण गरिएकामा सात हजार ५३४ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ। त्यस्तै ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १३६ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा भइरहेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार