गोरखा । सिरानचोक गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर सेवा दिन थालेको छ । स्वास्थ्य सस्थाको पहुँच भन्दा टाढा रहेका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुसँग घर भेट, स्वास्थ्य जाँच, उपचार तथा परामर्श कार्यक्रम सुरु गरिएको हो ।

‘कतिपय बृद्ध बा–आमाहरु नियमित जाँचका लागि स्वास्थ्य संस्थासम्म आउन सक्नुहुन्न,’ गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले भने, ‘कम्तिमा महिनामा एक पटक घरदैलोमा पुगेर सुगर, प्रेसर जाँच गर्न सकियो भने पनि उहाँलाई धेरै सजिलो हुन्छ भन्ने लागेर हामीले यो कार्यक्रम सुरु गरेका हौं ।’ गाउँपालिकाले नीति तथा कार्यक्रममै उल्लेख गरी बजेट समेत व्यवस्था गरिएको उनले बताए ।
उक्त कार्यक्रम सञ्चालन गर्नका लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा ६ लाख रुपैयाँ छुट्याइएको छ । ‘अहिले भइरहेका स्वास्थ्यकर्मीलाई प्रयोग गरी हामीले प्यारामेडिक्स र नर्सिङको गरी २ वटा टीम बनाएका छौं,’ स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले भने, ‘त्यो टिमले प्रत्येक गाउँटोलमा गएर उहाँहरुलाई सेवा दिनुहुन्छ ।’ उक्त टोेलीले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गर्ने, उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने, स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गराउने लगायतका काम गर्नेछ ।
अपाङ्गता भएकाहरु, अशक्त र नियमित औषधी खाइरहेकाहरुलाई यो अभियानले विशेष लाभ पुग्ने विश्वास लिइएको छ । ‘उहाँहरुले खाइरहेको औषधीको सन्र्दभमा पनि हामीले फलोअप अनुगमन गर्न पाउने भयौं,’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने, ‘कपितयको प्रेसर, सुगर जस्ता समान्य चेकजाँच पनि नियमित हुन नसक्दा त्यसैले गम्भीर समस्या परिरहेको देखिन्छ । यो कार्यक्रमले त्यसको पनि हल हुन्छ ।’
स्वास्थ्य परीक्षणका लागि पुगेको टोलीले सरकारले निशुल्क उपलब्ध गराएको औषधी सहज ढङ्गले वितरण गर्नेे, स्वास्थ्य बिमा मार्फत पाउने औषधीको सहजीकरण गर्ने र असहाय अशक्तहरुलाई गाउँपालिकाले खरिद गरेर समेत औषधी उपलब्ध गराउने समेत तयारी गरिएको छ । मंगलबार वडा नम्बर २ थालाजुङ्गमा आयोजित एक कार्यक्रमका वीच १०२ वर्षका जेष्ठ नागरिक हर्कबहादुर गुरुङको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो । अब उक्त अभियान अन्र्तगत आठ वटै वडाका सबै गाउँटोलहरुमा स्वास्थ्यकर्मी टोलीहरुले परिचालन गरिने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
वडा नम्बर २ का अध्यक्ष तथा थालाजुङ्ग स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने, स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको पहिलो दिन थालाजुङ्गका ८० जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।